काठमाडौं । ऊर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले तोकिएको समयमा निर्माण सम्पन्न हुन नसकेका २५० भन्दा बढी सडकका ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको बताएका छन् ।

बुधबार सिंहदरबारमा बाजुराको मार्तडी सडकखण्ड सुचारु गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेका युवाहरूसँगको भेटमा मन्त्री घिसिङले निर्माण क्षेत्रको विकृति अन्त्य गर्न सरकार कठोर बनेको बताएका हुन् ।

ad

मन्त्री घिसिङले ठेक्का लिएर समयमै आयोजना पूरा नगर्ने र लामो समयसम्म काम ‘होल्ड’ गर्ने प्रवृत्तिले जनताले सास्ती पाएको र देशलाई ठूलो आर्थिक हानि भएको बताए ।

'राज्यले बजेट छुट्याएर सुरु गर्न खोजेका आयोजनाको ठेक्का लिने तर काम सुरु नगर्ने वा अलपत्र पार्ने कार्य राष्ट्रकै लागि घात हो,' उनले भने । उनले सडक विभाग अन्तर्गतका मात्र नभई भौतिक पूर्वाधार, सहरी विकास र ऊर्जा तथा सिँचाइ क्षेत्रका ठूला आयोजनाहरूमा पनि काम अघि नबढे ठेक्का तोडिने चेतावनी दिए ।