काठमाडौँ । एकातिर प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई बोलाएर निर्वाचनमा सहभागी हुन आग्रह गर्दै 'बहिष्कार भनेको अराजकता रोज्नु हो' भन्दै शान्त वातावरण बनाउने आश्वासन दिइरहँदा, अर्कोतिर बाराको सिमरा विमानस्थलमा जेनजी समूहको नाममा ठूलो अवरोध खडा भयो।

एमालेले मधेस प्रदेशस्तरीय युवा भेला राखेकाे परवानीपुरमा सम्बोधन गर्न महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत काठमाडौंबाट सिमरा उडान भर्न लाग्दा विमानस्थलमै प्रदर्शनकारीको झडप सुरु भयो। 

ad

गेट फुटाएर धावनमार्गतिर छिरेपछि वातावरण तनावग्रस्त बनेको थियो। प्रतिकारमा एमाले समर्थकहरू पनि भेला हुँदा झडपको जोखिम बढेपछि स्थानीय प्रशासनले कर्फ्युसमेत जारी गर्‍यो। परिणामस्वरूप एमाले नेताहरू काठमाडौंमै फर्किनुपर्‍यो।

यो अवरोध सम्राट उपाध्याय नेतृत्वको जेनजी समूहबाट आएको हो। सामाजिक सञ्जालमार्फत उनले एमाले नेताहरूलाई बारा नआउन आह्वान गरेपछि केही युवाहरू विमानस्थल पुगेर अवरोध सिर्जना गरेका थिए। पानी बाँड्ने स्वयम्सेवक समूहबाट जेनजी आन्दोलनमा प्रवेश गरेका सुधन गुरुङ नजिकका उपाध्याय पछिल्लो समय जेनजी समूह शीर्षकमा विभिन्न गतिविधि चलाइरहेका छन्।

बारामा भएको घटनाले प्रमुख दलहरू आक्रोशित बने। एमाले अध्यक्ष केपी ओलीले 'सरकार चुनावमा सहभागी बन भन्छ, तर शान्तिपूर्ण भेलामै रोक लगाइन्छ' भन्दै सरकारको आलोचना गरे। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि 'निर्वाचन माहौल बिगार्ने यस्ता हस्तक्षेप अस्वीकार्य' भन्दै विरोध जनाए। रास्वपाले पनि यस्तै प्रतिक्रिया दिएको छ।

उता केन्द्रमा प्रधानमन्त्री कार्कीले दल दर्तादेखि निर्वाचन तयारीसम्म सम्पूर्ण पक्ष तैयार हुनुपर्ने बताइरहनुभएको छ। तर बारामा भएको अराजकताले आगामी निर्वाचनको वातावरण कति सुरक्षित र व्यवस्थित छ भन्ने प्रश्न उठाएको छ।