काठमाडौं । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन अगाडि महाधिवेशन गर्ने कि पछाडि गर्ने भन्नेमा रस्साकस्सी चलिरहेकै अवस्थामा विशेष महाधिवेशन पक्षधरहरुले अब नियमित महाधिवेशनको चर्चा नगर्ने भन्दै विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढाउन पार्टी नेतृत्वलाई दबाब दिने भएका छन् ।

निर्वाचन अगाडि कुनै पनि महाधिवेशन नगर्ने अडानमा संस्थापन पक्ष रहेपछि इतर पक्ष विशेष महाधिवेशनको माग गर्दै दबाबमुलक अभियान सञ्चालन गर्ने तयारी शुरु गरेको छ । पुस महिनाभित्र नियमित महाधिवेशन गर्न संस्थापन पक्ष तयार नभएर विशेष महाधिवेशन जानुपर्नेमा भन्दै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र नेता डा. शेखर कोइराला एकमत देखिएका छन् ।

ad

विशेष महाधिवेशन पक्षधरहरुले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाउने तयारी गरिरहेका छन् । यसैक्रममा विशेष महाधिवेशन पक्षधरका तर्फबाट कांग्रेस नेता गुरुराज घिमिरेले कावा सभापति खड्कालाई टेलिफोन गरी ध्यानाकर्षणपत्र बुझ्न समय माग गरे पनि खड्काले अहिलेसम्म समय नदिएको एक नेताले बताए । विशेष महाधिवेशन पक्षधरहरुले भोलि बस्ने पार्टी केन्द्रीय समितिको बैठकलाई लक्षित गरी केन्द्रीय कार्यालय, घेराउ गर्ने समेत जानकारी दिएका छन् । 

गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए । कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले माग गरेमा ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ । 

यता गत कात्तिक २८ गते सिंगापुरबाट फर्किएका कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशनका बिषयमा सहमति जुटाउन निरन्तर छलफल जारी राखेका छन् । तर अहिलेसम्म कुनै निष्कर्ष निस्कन सकेको छैन ।