
काठमाडौं । स्वदेशी उद्योगको प्रवर्द्धनका लागि स्वदेशी उत्पादनको प्रयोग बढाउने उद्देश्यले बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव आयोजना गरिने भएको छ ।
रुपन्देही उद्योग संघको आयोजनामा आगामी पुस ३ गतेदेखि बुटवलस्थित आधुनिक प्रदर्शनीस्थलमा प्रर्दशनी आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइयो ।
संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले स्वदेशी उद्योगको प्रवर्द्धन र स्वदेशी उत्पादन प्रयोगको भावना विकास गर्ने मुख्य उद्देश्यसहित प्रदर्शनी आयोजना गर्न लागिएको बताए ।
आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको औद्योगिक व्यवसायको संरक्षण, सम्वर्द्धन र विकासका लागि स्वदेशी उत्पादनको प्रयोगलाई सबैले प्राथमिकता दिन आवश्यक रहेको सन्देश प्रवाह यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको उनले बताए ।
‘प्रदर्शनीका मुख्य उद्देश्यमा स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना, कृषिको व्यावसायीकरण, पर्यटन प्रवर्द्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार सृजना, गोष्ठी र अन्तक्र्रिया रहने छन्,’ अध्यक्ष पराजुलीले भने, ‘प्रदर्शनीले स्वदेशी उत्पादनलाई उपभोक्तासँग जोड्दै नयाँ उद्योग स्थापनाका लागि प्रोत्साहन र औद्योगिक सम्भावनाको खोजीमा टेवा पुग्ने विश्वास लिइएको छ ।’
प्रदर्शनीमा औद्योगिक प्रविधि, रेष्टुराँ, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायत करिब ५०० स्टल रहने आयोजकले जनाएको छ ।
संघले विसं २०४५ मा पहिलोपटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनीे गर्दै आइरहेको छ । यस वर्ष १६औँ प्रदर्शनी हुन लागेको हो ।








Facebook Comments