काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विधानअनुसार विशेष महाधिवेशन गर्न संवाद सुरू गरेका छन्। सोही क्रममा उनीहरुले आज नेता डा. शेखर कोइरालासँग छलफल गर्न लागेका हुन् ।

कोइरालाले पछिल्लो समयमा पुसभित्र नियमित महाधिवेशन नभए केन्द्रीय समितिबाट निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्ने बताएका छन् ।  आज उनले युवा नेता तथा कार्यकर्ताहरूसँगको भेटमा केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेर विशेष महाधिवेशनमा जान सकिने बताएका थिए।

ad

पार्टी संस्थापन पक्षका केही नेताहरुले फागुन २१ गते तोकिएकोको प्रतिनिधिसभा निर्वाचनअघि नियमित र विशेष दुवै महाधिवेशन विभिन्न वहानामा टार्न खोजेपछि महामन्त्रीद्वयले विशेष महाधिवेशनका लागि संवाद शुरु गरेका हुन् । 

पछिल्लो समयमा नेपाली कांग्रेसमा महाधिवेशनको विषय थप पेचिलो बन्दै गएको छ। असोज २८ देखि सुरू केन्द्रीय समितिको बैठक अनिर्णयको बन्दी बन्न पुगेको छ ।  महाधिवेशनको बिषयमा कुनै सहमति हुन नसक्दा पटक पटक स्थगित हुँदै केन्द्रीय समितिको बैठक मंसिर ४ गते दिउँसो बस्दैछ ।

महाधिवेशनको बिषयमा दुईथरि मत भएपछि केन्द्रीय समितिले कुनै निर्णय लिन सकेको छैन। सिंगापुरमा उपचार गरेर केही दिन अगाडि स्वदेश फर्किएका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेताहरूसँग अनौपचारिक छलफल गरेर सहमति प्रयास गर्दै आएका छन्। असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका थिए। नियमित महाधिवेशनबारे कुनै सहमति नभए विधानअनुसार तीन महिनाभित्र अर्थात पुसभित्रै विशेष महाधिवेशन गर्नु बाध्यकारी छ ।