काठमाडौं । नेपाली कांग्रेसमा सरकारले फागुन २१ गतेका लागि तोकेको प्रतिनिधिसभाको निर्वाचनभन्दा अगाडि महाधिवेशन गर्ने कि पछाडि गर्ने भन्नेमा विवाद रहेको अवस्थामा कांग्रेसका नेता डा. शेखर कोइरालाले पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् । उनले यदि पुसभित्र नियमित महाधिवेशन हुन नसके केन्द्रीय कार्यसमितिले निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्ने पनि बताए ।

आफ्नो सम्पर्क कार्यालय विशालनगरमा युवा नेता तथा कार्यकर्ताहरूसँग कुराकानी गर्दै डा. कोइरालाले ढिलोमा पनि पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा आफू रहेको बताएका भेटमा सहभागी एक युवा नेताले बताए । विशेष महाधिवेशनमा जाँदा अहिले हस्ताक्षर बुझाएका ५४ प्रतिशतको सनाखत गरेरभन्दा पनि केन्द्रीय समितिबाट नै सर्वसम्मत निर्णय गरेर जाँदा उपयुक्त हुने कोइरालाको भनाई थियो । 

ad

कोइरालाले विशेष महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा बुझाइएका हस्ताक्षरको सनाखत गर्न नहुने पनि बताए । ती हस्ताक्षर सनाखत गराउन सुरू गर्ने हो भने पार्टी विभाजनमा जान सक्ने उनको दावी थियो ।