
राजावादी गतिविधिमा संलग्न र बैंक ऋण मिनाहाको माग राख्दै आन्दोलनको तयारीमा रहेका दुर्गा प्रसाईंलाई प्रहरीले मध्यरातमा उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले सोमबार राति प्रसाईंलाई नियन्त्रणमा लिएको हो। प्रहरी स्रोतका अनुसार, उनलाई "हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको" आरोपमा पक्राउ गरिएको हो।
यसअघि चैत १५ गतेको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए। उनी आगामी मंसिर ७ गते देखि बैंक ऋण मिनाहा लगायतका माग राख्दै बृहत् आन्दोलनको तयारीमा थिए।
दुर्गा प्रसाईंको गिरफ्तारीको विरोधमा उनको नेतृत्वको 'नागरिक बचाउ दल' ले पूर्वघोषित मिति नपर्खिकन आजैबाट देशव्यापी संघर्षका कार्यक्रमहरू सुरु गर्ने घोषणा गरेको छ।
दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङ ले प्रसाईंलाई मध्यरातमा "अपहरण शैली" मा पक्राउ गरेर सरकारले शान्ति भंग गरेको आरोप लगाएका छन्। अनलाइनखबरसँग कुरा गर्दै उनले भने: "हाम्रा नेता दुर्गा प्रसाईंलाई मध्यराति अपहरण शैलीमा पक्राउ गरेर सरकारले शान्ति भंग गरेको छ। त्यसैले मंसिर ७ गते नपर्खिकन आजैबाट हामी देशव्यापी आन्दोलनमा उत्रिँदैछौं।"









Facebook Comments