काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको आक्रमणपछि पार्टीको कामकारबाही पूर्णबहादुर खड्कालाई जिम्मा लगाएर सिंगापुर पुगेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा एक महिनामै सक्रिय राजनीतिमा फर्किएका छन्।

नेतृत्वमाथि प्रश्न र महाधिवेशनबारे विवाद पार्टीमा महिनौंदेखि चलिरहेको छ । पार्टी बैठक महाधिवेशन चुनावअघि कि पछि बहसमा कांग्रेस डुब्दै गर्दा देउवा शुक्रबार सिंगापुरबाट फर्किएका हुन्।

ad

आइतबार देउवाले संस्थापन पक्षका चार शीर्ष नेतासँग आफ्नै निवासमा दुई घण्टा भन्दा बढी छलफल गरे। सहभागी नेताहरू प्रकाशशरण महत, एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीसँग उनले पार्टीभित्रको चलिरहेको विवाद, महाधिवेशनको समय र चुनाव तयारीबारे सुझाव मागेका थिए।

नेता महतका अनुसार देउवाले ‘पहिले चुनावको तयारी, त्यसपछि महाधिवेशन’ उचित हुने संकेत दिएका छन्। तर कांग्रेसभित्र यही विषयमा दुई धार तीव्र छन् । एक पक्ष चुनावपछि महाधिवेशन चाहन्छ भने अर्को पक्ष चुनावअघि नियमित महाधिवेशन वा विशेष महाधिवेशनको अडानमा छ

दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनका औपचारिक हस्ताक्षर नै बुझाइसकेकाले त्यसलाई बेवास्ता गर्न नमिल्ने तर्क गरिरहेका छन्। विशेष महाधिवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर बुझाइसकेकाले विधानअनुसार पुस २८ भित्र बोलाउनुपर्ने दबाब छ।

यसैबीच आइतबार देउवालाई भेट्न पुगेका महामन्त्री विश्वप्रकाश शर्माले ‘विधानसम्मत मागलाई बेवास्ता गरिए आफू महामन्त्री पदबाटै राजीनामा दिन तयार’ रहेको चेतावनी दिएका छन्।

नेतृत्व परिवर्तन, महाधिवेशनको मिति र चुनावी तयारीबारे एकपछि अर्को दबाब बढिरहेको बेला देउवा फर्किएसँगै अब निर्णयको केन्द्र फेरि उनको हातमा गएको देखिएको छ।

एक महिना पार्टी कामबाट ‘दूर’ रहेका देउवा अब आन्तरिक द्वन्द्व टुंग्याउने कि पार्टीलाई अझ विभाजित बनाउने—कांग्रेसको अर्को मोड त्यसैको प्रतीक्षामा छ।