काठमाडौँ । भदौ २३–२४ को जेनजी आन्दोलनलाई अराजकतापूर्ण भन्दै आएको नेकपा एमाले अहिले पनि आफ्नो प्रमुख एजेन्डा संसद पुनःस्थापनालाई आक्रामक रूपमा उठाइरहेको छ। आन्दोलनपछि सरकार परिवर्तन भएको र संसद विघटन ‘असंवैधानिक’ भएको दाबी गर्दै एमाले अन्तरिम सरकारविरुद्ध लगातार देखिएको छ।

अध्यक्ष केपी शर्मा ओली स्वयं विघटित संसद पुनःस्थापना नै संविधानलाई ‘ट्र्याकमा ल्याउने’ उपाय भएको बताइरहेका छन्। तर कानूनी प्रक्रियाले संसद पुनःस्थापनाको सम्भावना न्यून भएको संकेत दिँदै अन्य दलहरूले एमालेको अडानप्रति आश्चर्य व्यक्त गरेका छन्।

ad

एमालेले भने संसद पुनःस्थापनालाई मुख्य राजनीतिक मुद्दा बनाउँदै चरणबद्ध आन्दोलन थालेको छ। कात्तिक २२ गते वडा भेला, २५ गते पालिका र्यालीपछि, शुक्रबार देशभर जनसभा सम्पन्न गरेको पार्टीले मंसिर ६ मा काठमाडौंमा ठूलो शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ।

यता आगामी निर्वाचनको मिति नजिकिँदै गर्दा पनि एमाले पुरानै एजेन्डामा अडिग रहनुले राजनीतिक वृतमा प्रश्न उठाइरहेको छ, चुनावी माहोलमा संसद पुनःस्थापनाको माग कति यथार्थपरक र कति प्रभावकारी ?