
काठमाडौं । मधेश प्रदेशमा नेकपा एमाले पृष्ठभूमिकी तत्कालीन प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले ससदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरी आफ्नो कार्यालयभन्दा झण्डै ५० किलोमिटरको दूरीमा रहेको बर्दिबासको एउटा होटलमा शपथ ग्रहण गराएको प्रकरणले अहिले मधेस प्रदेशको राजनीति तातेको छ ।
प्रदेश प्रमुख भण्डारीले हतारमा मुख्यमन्त्री नियुक्त गरेपछि एकजुट हुँदै ७ दल विरोधमा उत्रिँदा मधेस सरकारका मन्त्रालयहरुका कामकाज गत सोमबारदेखि ठप्प छ ।
संविधानको धारा १६८ को उपधारा (२) को विकल्प हुँदाहुँदै प्रदेश प्रमुखले उपधारा (३) बाट मुख्यमन्त्री नियुक्ति गरेपछि उनीहरू विरोधमा उत्रिएका हुन् । प्रदेशसभाका बहुमत सांसदहरु असंवैधानिक ढंगबाट मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै सर्वोच्च अदालत गएका छन् । मधेश प्रदेशको सरकार गठनविरुद्ध बहुमत सांसदले दर्ता गराएको रिटमा आज सर्वोच्च अदालतमा दोस्रो सुनुवाइ हुँदै छ ।
न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिएको छ । सर्वोच्चले कात्तिक २३ गते यादवलाई मुख्यमन्त्री नियुक्ति गर्नेसम्बन्धी सम्पूर्ण फाइल पेस गर्न आदेश गरेको थियो ।









Facebook Comments