काठमाडौं । नेपाली क्रिकेट समर्थकहरूका लागि लामो प्रतीक्षा अब समाप्त हुँदै छ । मंसिर १ गतेदेखि त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदान, कीर्तिपुरमा नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण सुरु हुँदै गर्दा, यसपटकको प्रतियोगिताले नयाँ इतिहास रच्ने पक्का छ । टीयू मैदानको घाँसे मैदानमा ब्याट र बलबीचको टक्कर त सधैँ रोमाञ्चक हुन्छ नै, तर यसपटक त्यो रोमाञ्चकतामा फ्लडलाइटको स्वर्णिम उज्यालो थपिने भएको छ ।

नेपाली क्रिकेटको इतिहासमा पहिलोपटक दर्शकहरूले साँझको चिसो सिरेटोमा, सुसज्जित प्यारापिटमा बसेर, झलमल्ल उज्यालोमा हुने ‘नाइट क्रिकेट’को भव्य मजा लिन पाउनेछन् । ‘यो साधारण खेल मात्र होइन; यो नेपाली क्रिकेटले अँगाल्न लागेको व्यावसायिकताको नयाँ युग पनि हो, जहाँ मैदानमा खेलाडीको पसिनासँगै दर्शकको उत्साहले उज्यालोको नयाँ शिखर चुम्नेछ,’ नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले देशान्तरसँग भने ।

ad

दर्शकदीर्घामा बसेर ‘नाइट म्याच’ हेर्ने हरेक क्रिकेटप्रेमीको लामो समयदेखिको सपना अब एनपीएल २ ले पूरा गर्दै छ । तयार हुनुहोस्, दिनको चर्को घाममा होइन, अब रातको जादुई उज्यालोमा क्रिकेटको महासंगम हेर्न । टीयू क्रिकेट मैदानमा हुने हरेक खेलमा दर्शकको बाक्लो उपस्थितिले नेपालमा क्रिकेटको अटुट प्रेम दर्शाउँछ । ती दर्शकको भीडबाट सधैँ एउटै मार्मिक र पुरानो माग गुञ्जिन्थ्यो, ‘सरकार, हामी कहिले फ्लडलाइटको उज्यालोमा प्यारापिटमा बसेर क्रिकेट हेर्न पाउने ?’

वर्षौंदेखिको त्यही सपनाले मूर्त रूप लिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदै गर्दा, टीयू मैदान नयाँ स्वरूपमा सजिएको छ । सरकारले छुट्याएको बजेटबाट निर्माण गरिएको फ्लडलाइट पोल जडान भई परीक्षण सम्पन्न भइसकेको छ । बाँकी कामहरू पनि दिनरात नभनी चौबीसै घण्टा युद्धस्तरमा भइरहेका छन् । योपटक दर्शकहरू धुलो र हिलोमा होइन, ९ हजार ४ सय ५० सिट क्षमताको आरामदायी प्यारापिटमा बसेर रात्रि क्रिकेटको भव्यताको साक्षी बन्नेछन् । भीड नियन्त्रणका लागि मैदानको चारैतिर दुई तहको (तारजाली र जस्तापाताको) बार लगाउनुका साथै ५ वटा प्रवेशद्वारको व्यवस्था गरिएको छ । सुरक्षाका लागि निजी सुरक्षाकर्मी र नेपाल प्रहरी दुवै परिचालन गरिनेछ ।

दर्शकले उठाएको मागलाई सरकारले बजेटमार्फत सम्बोधन गर्नु र क्रिकेटको मन्दिरमा फ्लडलाइटको उज्यालो छर्नु आफैँमा ऐतिहासिक क्षण हो ।

प्रतियोगिताले नेपाली क्रिकेटलाई आर्थिक रूपमा पनि नयाँ उचाइ दिनेछ । नेपाल क्रिकेट संघ (क्यान)ले टिम बिक्रीबाट रु. ९ करोड, डिजिटल प्लाटफर्म ओटीपीबाट रु. ५ करोड ३० लाख र टिकट बिक्रीबाट मात्रै ८ देखि १२ करोड रुपैयाँसम्म आम्दानी गर्ने प्रक्षेपण गरेको छ ।

सुरुवाती आकर्षण यतिसम्म छ कि, उद्घाटन खेलको सम्पूर्ण टिकट (साधारणतर्र्फ रु. ५०० र भीआईपीतर्फ रु. १,५००) पहिल्यै ‘सोल्डआउट’ भइसकेको छ । अन्य दिनका खेलहरूको टिकट दर पनि उत्साहजनक छ (साधारणतर्फ रु. ५०० र भीआईपी रु. १,०००), जबकि फाइनल खेल (साधारण रु. १,००० र भीआईपी रु. २,०००)का लागि पनि उच्च माग हुने निश्चित छ ।

एनपीएलको तयारी पूरा भएको क्यानका सचिव पारस खड्काले जानकारी दिए । प्रतियोगिताका ३२ मध्ये २३ खेल रात्रिकालीन हुनेछन् । उद्घाटन खेलमा गत संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।