
काठमाडौं । नेकपा (एमाले)को आगामी ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीको एकछत्र नेतृत्वमाथि गम्भीर चुनौती आइलागेको छ । उनलाई चुनौती दिनका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूह सक्रिय भएर लागेको छ ।
पार्टीको सर्वोच्च पदमा आफ्नो विरासत जोगाउन खोज्ने ओली र नेतृत्व हत्याउने कसरतमा लागेको विद्या समूहबीचको टक्करले एमालेको भविष्य कस्तो होला भन्ने कौतुहल आममानिसमा हुन थालेको छ । ओलीले पूर्वराष्ट्रपतिको सदस्यता नै नवीकरण गर्न नदिएर पार्टी राजनीतिमा बन्देज लगाए पनि अहिले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अघि बढाउने अभियानमा लागेकी छन् ।
पोखरेललाई लामो समयसम्म ओलीको विश्वासपात्र मानिन्थ्यो । १०औँ महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित उनी पछिल्लो समय ओलीको आलोचक बनेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्यक्ष रूपमा राजनीतिक अभिव्यक्ति नदिए पनि उनको पछिल्लो सक्रियता र राजनीतिक भेटघाटलाई अर्थपूर्ण मानिएको छ । यद्यपि, केही विश्लेषकहरूले ओली र भण्डारीबीचको चुनौतीलाई ‘हास्यास्पद प्रचारबाजी’ वा ‘नाटक’ मात्र भने पनि अहिले प्रतिनिधि छनोटमा पनि समूहगत रूपमा हावी भएको एमालेकै नेताहरू बताउँछन् । ओली नेतृत्वको सरकारकै कारण जेनजी आन्दोलन भएको र अहिलेको अवस्थामा उनैलाई पार्टी अध्यक्ष बनाउँदा एमालेले आगामी निर्वाचनमा सफलता पाउन मुस्किल हुने भन्दै विद्या समूह विकल्पको खोजीमा उत्रिएको छ । साथै ओलीले पछिल्लो समय पार्टीभित्र चुनौती बढ्ने आकलन गर्दै हरेक कुरामा निर्देशनमात्रै जारी गर्दै गएका छन् । केही दिनअघि सचिवालय बैठकमा पनि उनले महाधिवेशनका सन्दर्भमा आफू मात्रै बोल्ने अरू कोहीले पनि बोल्न नपाउने फरमान जारी गरेका थिए । त्यसलाई अन्य नेताहरूले ओलीको अहंकार र घमण्डीपन भनेर टिप्पणी गरेका छन् ।









Facebook Comments