काठमाडौं । देश प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटिरहेको बेला नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भने आफ्नै घमण्डले गुमाएको सत्ताको बदला लिन देशलाई फेरि द्वन्द्वको भूमरीमा धकेल्न उद्यत देखिएका छन् । विगतमा दुईपटक संसद् विघटन गरी लोकतन्त्रको घाँटी निमोठेको दाग मेटाउनुको सट्टा जेनजी आन्दोलनपछि ट्रयाक बाहिर गएको संविधानलाई फागुन २१ को निर्वाचनमार्फत सही ट्रयाकमा फर्काउन सबै हठ त्यागेर लाग्नुपर्नेमा एमाले अध्यक्ष ओली भने वर्तमान सरकारप्रति निरन्तर प्रहार गर्दै कार्यकर्तालाई नै मुठभेडमा उत्रिन दिनहुँजसो निर्देशन दिइरहेका छन् । जेनजी आन्दोलनअघि सत्तामा रहँदा कसैलाई नटेर्ने ओली आफ्नै अहंकार र घमण्डका कारण सरकारबाट बाहिरिन बाध्य भएपछि अहिले जेनजी आन्दोलनको मूल मर्म र भावविपरित संसद् पुनर्स्थापना को एजेण्डा अगाडि सार्दै कार्यकर्ताहरूलाई सडकमा उतारेर मुलुकमा थप द्वन्द्व बढाउन उद्यत रहेको राजनीतिक वृत्तमा टिप्पणी भइरहेको छ ।

अन्य राजनीतिक दलहरू अन्तरिम सरकारले यही फागुन २१ का लागि तोकेको प्रतिनिधिसभा निर्वाचनमा जाने मनस्थितिमा रहेको अवस्थामा एमाले भने संसद् पुनर्स्थापना को एकोहोरो रटान गर्दै सडकमा उत्रिनु मुलुकमा द्वन्द्व बढाउने मनसाय मात्र भएको राजनीतिक जानकारहरू बताउँछन् । जेनजी आन्दोलनका कारण सत्ताबाट विस्थापित भएपछि विभिन्न पक्षलाई सत्तोसराप गर्दै कार्यकर्ताहरूलाई सडकमा उत्रिन निर्देशन दिँदै आएका ओली निर्वाचन नगराउने र देशमा थप द्वन्द्व निम्त्याउन अग्रसर रहेको आरोप पनि छ । उनले अहिले युवा दस्ता बनाएर सरकारविरुद्ध गतिविधी गर भन्नुलाई धेरैले उनको बहुलठ्ठीपन भनेर पनि टिप्पणी गरेका छन् ।

ad

विघटित प्रतिनिधिसभा पुनर्स्थापना को माग गर्दै एमालेले मुलुकका ७७ वटै जिल्ला र ७५३ वटै पालिकामा प्रदर्शन गरिसकेको छ । हिजो कात्तिक २९ गते जिल्लास्तरमा एमालेले सभा गरेको छ भने  आगामी मंसिर ६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने तयारी एमालेले गरेको छ ।

एमालेकै कतिपय केन्द्रीय सदस्यहरू ओली आफैँले दुईदुईपटक संसद् विघटन गरेकाले अहिले संसद् पुनर्स्थापना को माग लिएर आन्दोलनमा जाँदा जनतामा हाँसो र घृणाको पात्र हुने भन्दै यसले केवल भिडन्त निम्त्याउने बताउँदै आएका छन् । तर ती केन्द्रीय सदस्यहरूको सुझावलाई टेर्ने पक्षमा ओली देखिएका छैनन् ।

यसैबीच ओलीले तेस्रोपटक पनि पार्टीको नेतृत्वमा आउने तयारी सुरु गरेपछि पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षले भने वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ओलीको प्रतिस्पर्धामा उतार्ने गृहकार्य सुरु गरेको छ । मंसिरमा हुने पार्टीको ११औँ महाधिवेशनमा विद्या पक्षको सहयोगमा छुट्टै प्यानल खडा गरी ओलीलाई टक्कर दिने योजनामा पोखरेल रहेका छन् । उनले शुक्रबार नीति र नेतृत्वमा परिवर्तन जरुरी रहेको भन्दै पार्टी पंक्तिलाई बहसमा सहभागी हुन आह्वान गरेका छन् ।

केही दिनअगाडि आफूलाई निर्विकल्प अध्यक्षको रूपमा प्रस्तुत गर्दै आगामी मंसिरमा हुने महाधिवेशनमा आफू बोल्ने र थप छलफल नहुने बताएपछि त्यसको काउन्टरमा पोखरेलले महाधिवेशनमा विभिन्न प्रस्तावहरूका विषयमा थप छलफल हुने बताएका छन् । शुक्रबार अपिल जारी गर्दै पोखरेलले भनेका छन्, ‘भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ कार्यदिशाका साथ अघि बढ्नुपर्ने आवश्यकता छ । तसर्थ आगामी एघारौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधानलगायत विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको छ ।’  उनले पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यताअनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्षमा पुग्नका लागि महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहने पनि उल्लेख गरेका छन् ।