
देशान्तर विशेष संवाददाता
काठमाडौं । ठूलो रस्साकस्सी र विशेष महाधिवेशनका हस्ताक्षरकर्ताहरूको दबाबका कारण अन्ततः मुलुकको प्रमुख राजनीतिक दल नेपाली कांग्रेसको महाधिवेशन घोषित चुनावअगाडि नै गर्ने सहमतिको नजिक पुगेको एक पदाधिकारीले देशान्तरलाई बताएका छन् । सर्वसम्मत १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन केन्द्रीय कार्यसमितिले कार्यबाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई जिम्मा दिएको छ । उनीहरूले भर्खरै उपचारपश्चात् नेपाल फर्किएका सभापति शेरबहादुर देउवासँग समेत छलफल गरी भोलि सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा कार्यतालिका ल्याउने सबै समितिका सदस्यहरूले आशा गरेका छन् । यदि कुनै शक्तिले चलखेल नगरे कांग्रेसको महाधिवेशन चुनाव अगाडि नै हुने निश्चित जस्तै देखिएको छ ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठक १ महिनादेखि जारी छ तर एजेन्डा केवल एउटै छ, महाधिवेशन । नेतृत्वको वैधानिक समयसीमा सकिनै लाग्दा, पार्टीको १५औँ नियमित महाधिवेशन कहिले गर्ने भन्ने विवादले कांग्रेसभित्र किचलो पैदा गरेको छ । एकातिर संस्थापन पक्ष सकेसम्म महाधिवेशनलाई आमनिर्वाचनको मुखमा टार्ने वा सार्ने दाउमा छ, भने अर्कोतिर संस्थापन इतरपक्षसहितको बलियो समूह निर्वाचनअघि नै, तोकिएको समयमै वा विशेष परिस्थितिमा विशेष महाधिवेशन गरेर भए पनि पार्टीलाई नयाँ दिशा दिने अडानमा छ । यसले गर्दा अहिलेसम्म कांग्रेसले बैठकको औपचारिक निर्णय सार्वजनिक गर्न ढिलाइ भइरहेको छ । केन्द्रीय कार्यसमितिमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काले मात्रै धारणा राख्न बाँकी रहेका बेला भोलि सोमबारसम्मलाई बैठक स्थगित गरिएको छ । नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विधिसम्मत रूपमा विशेष महाधिवेशनको माग गर्दै कार्यबाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका छन् । यो हस्ताक्षर संख्याले पार्टी विधानको धारा १७ (२) लाई सक्रिय बनाउन पर्याप्त आधार दिएको छ, जसअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेमा विशेष महाधिवेशन गर्नुपर्ने वैधानिक बाध्यता सिर्जना हुन्छ । यस मागलाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित युवा नेताहरूको ठूलो पंक्तिको समर्थन रहेकाले चुनावअघि नियमित महाधिवेशन हुने सम्भावना बढ्दै गएको एक पदाधिकारीले बताए । यसबीचमा विशेष महाधिवेशन पक्षधरका महिला र युवाहरूले पनि काठमाडौंमा भेला गरेर नयाँ नेतृत्व चयन गरेर चुनावमा जानु पर्ने निष्कर्ष नै निकालेका छन् ।
कार्यबाहक सभापति खड्काले ‘पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्ने’ र ‘हतारमा निर्णय गरेर पछुताउनुभन्दा सही निर्णय लिन समय लागेको’ भन्दै सामाजिक सञ्जालमार्फत धैर्य धारण गर्न आग्रह गरेका छन् ।
तर, फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको चुनाव अगाडि १५औँ महाधिवेशन गर्ने कि पछि गर्ने भन्ने विवादमा केन्द्रीय समितिको बैठक अनिर्णयको बन्दी भएको बेला कांग्रेस महामन्त्री थापाले मंसिर मसान्तमा पार्टीको विशेष महाधिवेशन प्रस्ताव गरेपछि कांग्रेसमा अहिले नयाँ तरंग भने उत्पन्न भएको छ । कांग्रेस संस्थापन पक्षका केही नेताले विभिन्न बहानामा नियमित महाधिवेशन टार्न खोज्दा यही मंसिरमा विशेष महाधिवेशनको बाटो खुलेको छ । नियमित महाधिवेशनको कार्यतालिकामा सहमतिका लागि पटकपटक कसरत गरे पनि सहमति हुने सम्भावना क्षीण हुँदै गएपछि महामन्त्री थापाले मंसिर मसान्तमा विशेष महाधिवेशनको प्रस्ताव ल्याएको एक केन्द्रीय सदस्यले देशान्तरलाई जानकारी दिए ।
उनका अनुसार अब कांग्रेसले चुनाव अगाडि मंसिर या पुस नियमित महाधिवेशनको कार्यतालिका नल्याउने हो भने विशेष महाधिवेशन कसैले टार्न सक्ने अवस्था छैन । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले गत असोज २९ गते नै विशेष महाधिवेशनको माग गर्दै निवेदन दिएका थिए । नेपाली कांग्रेसको विधानको धारा १७ (२) मा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरबाट विशेष महाधिवेशन माग गरिए तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ । ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले असोज २९ मा विशेष महाधिवेशन माग गरेकाले ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनु बाध्यकारी भएकाले दायाँबायाँ गर्न नमिल्ने कानुनका जानकारहरू बताउँछन् । विशेष महाधिवेशनको मागलाई कि विशेष महाधिवेशन नै गरेर वा त्यही समयावधिभित्र नियमित महाधिवेशन गरेर मात्रै सम्बोधन गर्न सकिने कांग्रेसका एक पदाधिकारीले देशान्तरलाई जानकारी दिए ।
संस्थापन पक्षकै ठूलो समूह चुनाव अगाडि नै महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने पक्षमा देखिए पनि संस्थापन पक्षका ७ पूर्वपदाधिकारी चुनावअगाडि महाधिवेशन टार्न उद्यत देखिँदै टसमस नभएपछि महामन्त्री थापाले मंसिर २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेका हुन् । कांग्रेसलाई नयाँ दिशातर्फ अगाडि बढाउन र नयाँ पुस्ताको चाहनाअनुसार पार्टीमा रूपान्तरण ल्याउन कांग्रेसको इतर समूह नियमित होस् वा विशेष चुनावअगाडि नै महाधिवेशन गराईछाड्ने अडानमा छ । चुनावअगाडि महाधिवेशनको पक्षमा संस्थापन पक्षकै दुई दर्जन केन्द्रीय सदस्यहरू खुलेर उभिएका छन् । संस्थापन पक्षकै अधिकांश पदाधिकारी र केन्द्रीय सदस्यहरू चुनावअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा खुलेर उभिएपछि संस्थापन पक्ष पनि दबाबमा परेको छ ।
पार्टीमा पुराना अनुहार लिएर जनतासामु जान नसकिने भन्दै चुनावअगाडि नै महाधिवेशन गर्नुपर्ने माग बढ्दो छ । जनताको आकांक्षा पूरा गर्न कांग्रेसको नीति र नेतृत्व फेर्नुपर्ने आवश्यक रहेकाले पनि चुनाव अगाडि महाधिवेशनको माग कांग्रेसभित्र बढिरहेको एक केन्द्रीय सदस्यले देशान्तरलाई बताए ।
महामन्त्री थापाले पार्टीलाई आमसुधार नगरी चुनावमा जाँदा जनताले विश्वास नगर्ने भएकाले पार्टीको महाधिवेशन अनिवार्य गरेरै मात्र चुनावमा जानुपर्ने बताएका छन् ।
यता, पार्टीमा विशेष महाधिवेशनको मत बलियो बन्दै गएपछि संस्थापन पक्षका केही नेताहरू विशेष महाधिवेशनले पार्टीमा विभाजन ल्याउने भ्रम र त्रास फैलाउँदै हिँडिरहेका छन् । ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गर्न सक्ने वैधानिक व्यवस्थालाई उपयोग गर्न खोज्दा पार्टीमा विभाजन हुन्छ भनेर त्रास फैलाउनु महाधिवेशन प्रतिनिधिहरूलाई उपेक्षा गर्नु भएको संस्थापनइतर पक्षको दाबी छ ।
असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समितिको बैठक पटकपटक गरी १ महिनासम्म चल्दा पनि पार्टीको १५औँ महाधिवेशन, पछिल्लो घटनाक्रम र फागुन २१को चुनावको महत्वपूर्ण विषयहरूमा कांग्रेस अनिर्णित छ । असोज २८ गते पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक दिएर उपचारका लागि सिंगापुर गएका शेरबहादुर देउवा शुक्रबार बेलुका स्वदेश फर्किसकेका छन् । सहमति खोज्नका लागि भन्दै कांग्रेस केन्द्रीय समितिको बैठक केही दिन स्थगित गरी भोलि सोमबार दिउँसोको लागि बोलाइएको छ ।
शुक्रबार संस्थापन पक्षधर दुई दर्जन केन्द्रीय सदस्यले निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्न माग गरेका छन् । १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाको समूहबाट केन्द्रीय सदस्य निर्वाचित नेताहरूले तहगत रूपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाएर लागू गर्नुपर्ने माग राखेर कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई मागपत्र बुझाएका छन् । मागपत्रमा हस्ताक्षर गर्नेहरूमा केन्द्रीय सदस्यहरू राजेन्द्रकुमार केसी, भरतकुमार शाह, डा. डिला संग्रौला, उदय शमशेर राणा, नानु बास्तोला, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आंगेलु शेर्पा, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुरसिंह लामा, दिलमान पाख्रिन, अब्दुल सतार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी र चम्पादेवी खड्का छन् ।
चुनावअगाडि नै महाधिवेशनको कार्यतालिका ल्याउने र विशेष महाधिवेशन माग गर्नेलाई पनि चित्त बुझाएर अगाडि बढ्ने गरी सहमति जुटाउन कांग्रेस नेता डा. शेखर कोइराला लागिपरेका छन् । कोइरालाले चुनावअगाडि र पछाडि महाधिवेशन गर्नुपर्ने अडानमा रहेका दुवै पक्षलाई पटकपटक भेटी आफ्नो अडानबाट पछाडि हट्न आग्रह गर्दै केन्द्रीय समितिमा पेस भएका महाधिवेशनका दुई कार्यतालिका मिलाएर चुनावअगाडि नै महाधिवेशन गर्ने गरी अर्को कार्यतालिका ल्याउन सुझाव दिएको कोइराला निकट स्रोतले जानकारी दिएको छ ।









Facebook Comments