पोखरा। नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले मंसिरभित्रै १५औं महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व र नीति सहित चुनावमा जानुपर्ने निष्कर्ष निकालेको छ।

शनिबार पोखरामा आयोजित भेलामा गण्डकीका ११ वटै जिल्लाका प्रतिनिधि, जिल्ला सभापति र पार्टी कार्यकर्ताहरूले लामो समयदेखि अनिर्णयमा बसेको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै यो निर्णयमा सहमति जनाएका हुन्।

ad

भेलामा अधिकांश प्रतिनिधिले वर्तमान नेतृत्वको साथ चुनावमा जान नहुने र नियमित महाधिवेशन नभएमा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व र नीतिसहित चुनावमा जानुपर्ने माग राखेका थिए। पार्टीको ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेको मागअनुसार विशेष महाधिवेशन यही मंसिरभित्रै गर्नुपर्ने निर्णय गरिएको प्रदेश समितिले जनाएको छ।

भेलाले चार प्रमुख निर्णय गरेको छ। पहिलो निर्णयमा जेनजी आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना गरिएको छ। दोस्रोमा सभापति शेरबहादुर देउवा लगायत केन्द्रीय नेताहरूको व्यक्तिगत सम्पत्तिमा भएको तोडफोडको भर्त्सना गरिएको छ।

तेस्रो निर्णयले पार्टीभित्रको आत्मसमीक्षा र सुधारको आवश्यकता औँल्याएको छ। भेलामा भनिएको छ, “हामी हाम्रा आन्तरिक कमजोरी, सिद्धान्तगत गल्ती र विगतका सम्झौताबारे जनतासँग क्षमा याचना गर्दै अब यस्ता गल्ती दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्दछौं।”

चौथो निर्णयमा भने, केन्द्रदेखि तल्लो तहसम्म जारी अनिर्णय र भ्रमको अवस्था रोक्नुपर्ने औँल्याइएको छ। “करिब एक महिनादेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गर्न नसकेकोले कार्यकर्ता र शुभेच्छुकमा निराशा बढेको छ। यदि नियमित महाधिवेशन सम्भव छैन भने विशेष महाधिवेशन अनिवार्य रूपमा मंसिर मसान्तभित्र गर्नुपर्छ,” भनिएको छ।

प्रदेश समिति सभापति शुक्रराज शर्माले बताएअनुसार, कांग्रेसले रुपान्तरण र नयाँ नेतृत्वसहित जनतामा जानु अपरिहार्य छ। “अब कांग्रेस अलमलिनु हुँदैन, स्पष्ट दृष्टिकोण लिएर अगाडि बढ्नुपर्छ,” उनले भने।

भेलाले निष्कर्ष निकालेको छ कि देशको विषम परिस्थितिमा राष्ट्र, प्रजातन्त्र र पार्टीको संरक्षण नेपाली कांग्रेसको जिम्मेवारी हो र यसको लागि चुनावअघि महाधिवेशन अनिवार्य रहेको छ।