सुर्खेत। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी फागुनमा प्रतिनिधिसभाको निर्वाचन नहुने दाबी गरेका छन्।

शनिवार साँझ सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले भने, “चुनावका नाममा मुलुकमा षड्यन्त्र भइरहेको छ। देशलाई निर्वाचनको बहानामा हुने षड्यन्त्रविरुद्ध एमाले सक्रिय छ। हुँदै नहुने चुनावको पछाडि एमाले कहिल्यै लाग्दैन।”

ad

उनले जेन–जी आन्दोलनपछि गठन भएको सरकार र प्रतिनिधिसभाको विघटन संविधानविपरीत भएको बताए। २३ र २४ भदौपछि बनेको सरकारले लोकतन्त्र कमजोर पार्ने प्रयास गरेको उनको भनाइ थियो।

पोखरेलले भने, “प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि संविधानभित्रबाट निकास खोज्नुपर्ने थियो, तर बनेको सरकार संविधानले मान्यता नदिने स्वरूपको थियो। सरकार निर्माण र प्रतिनिधिसभा विघटन दुवै संविधानविपरीत छन्।”

विघटित प्रतिनिधिसभालाई पुनःस्थापन गर्दै संविधान संशोधनमार्फत विद्यमान राजनीतिक संकटको समाधान खोज्न एमाले तयार रहेको उनले बताए। साथै, लोकतन्त्रलाई सही मार्गमा लैजान सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए।

एमालेका पछिल्ला गतिविधि जनताको मनोबल उकास्ने उद्देश्यले केन्द्रित भएको उनले उल्लेख गर्दै आन्दोलन र हिंसा अलग राख्नुपर्ने धारणा व्यक्त गरे।

पोखरेलले जेन–जी आन्दोलनसँग सम्बन्धित ३३ प्रतिशत फेक एकाउन्ट निर्माण गरेर युवालाई भडकाइएको र एक तिहाइ प्रायोजित सामाजिक सञ्जालले राष्ट्रभर अस्थिरता फैलाएको दाबी पनि गरे।