
काठमाडौं । मुलुकको नयाँ राजनीतिक परिस्थितिका बीच नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आज देशका ७७ वटै जिल्लामा एकै दिन जनप्रदर्शन र जनसभा गरेर व्यापक शक्ति प्रदर्शन गरेको छ।
तेस्रो चरणमा प्रवेश गरेको ‘संगठित जनपरिचालन अभियान’ अन्तर्गत देशव्यापी सभा गरिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
गौतमका अनुसार जिल्लास्तरीय सभाहरूलाई पार्टीका शीर्ष नेतृत्वदेखि केन्द्रीय तहसम्मका वक्ताहरूले सम्बोधन गरेका थिए। उनले जनसभाहरू माध्यमबाट जेन–जी आन्दोलनका क्रममा भदौ २३–२४ मा भएका घटनाको निष्पक्ष छानबिन, तोडफोड तथा आगजनीमा संलग्नमाथि कारबाही, र प्रतिनिधिसभा पुनःस्थापनाको माग जनतासामु पुनः स्पष्ट रूपमा प्रस्तुत गरिएको बताए।
आजको देशव्यापी सभाको केन्द्रविन्दु विभिन्न मुख्य सहर भए । महासचिव शंकर पोखरेलले बाँके नेपालगञ्जमा ठूलो भीडलाई सम्बोधन गर्दै वर्तमान सरकारलाई ‘अक्षम’ र ‘चुनाव टार्ने प्रयत्नमा लागेको’ आरोप लगाएका थिए।
उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी पुगे भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङमा कार्यकर्तालाई आगामी चरणमा ‘अधिक संगठित’ हुन आग्रह गरे। त्यसैगरी रुपन्देहीमा सचिव छविलाल विश्वकर्मा, झापाको विर्तामोडमा सचिव पद्मा अर्याल,
धनगढीमा सचिव लेखराज भट्टले सभालाई सम्बोधन गरी पार्टीको राजनीतिक मूल्यांकन र आगामी योजनाबारे धारणा राखे।
एमाले नेतृत्वले यी सभाहरूलाई केवल विरोध कार्यक्रम नभई देशव्यापी राजनीतिक संवादको रूपमा प्रस्तुत गरेको छ।
एमालेले सभामा भदौ २३–२४ का घटनालाई केन्द्रमा राख्दै सरकारप्रतिको असन्तुष्टि प्रकट गर्यो। सभाहरूमा ‘जेन–जी आन्दोलन’का दोषीमाथि कारबाही नहुँदा न्यायिक संरचनामा प्रश्न उठेको, प्रदर्शनका नाममा तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई दण्डित गर्नुपर्ने, र ‘प्रतिनिधिसभा पुनःस्थापना’ को माग
जस्ता एजेन्डाहरू प्रबल रूपमा उठाइएका थिए।
गौतमका अनुसार देशले राजनीतिक अनिश्चितता र नेतृत्वहीनता भोगेको बेला एमालेले जनतासँग प्रत्यक्ष संवादमार्फत आफ्नो बाटो स्पष्ट पार्दै छ।
एमालेले यसअघि नै कात्तिक २२ मा देशका सबै वडामा भेला र कात्तिक २५ मा ७५३ पालिकामा भेला सम्पन्न गरिसकेको थियो। यसपछि आजको जिल्ला–स्तरीय विशाल सभा आयोजनाले पार्टी संगठनलाई ‘निर्वाचन पूर्वतयारी’ मोडमा पुगेको संकेत दिएको विश्लेषण हुँदै छ।









Facebook Comments