काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले पार्टीको १५ औँ महाधिवेशन प्रतिनिधिसभाको चुनाव अगाडि नै हुनुपर्ने माग गर्दै आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा विभिन्न ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा सरकारले फागुन २१ गतेका लागि निर्धारण गरेको प्रतिनिधिसभा निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको १५ औँ महाधिवेशन मङ्सिरभित्र सुरु गर्नुपर्ने उल्लेख गरिएको छ ।  ज्ञापनपत्रमा महाधिवेशन सम्पन्न गर्ने पहिलो खुड्किलो क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण कार्य सम्पन्न हुनुपर्ने भएकोले समय सीमा निर्धारण गरेर क्रियाशील सदस्यता टुङ्ग्याउनु पर्ने उल्लेख छ । 

ad

साथै युवा पुस्ताहरूको उल्लेखनीय प्रतिनिधित्वको सुनिश्चितता हुने गरी विधानमा संशोधन गर्नुपर्ने, पार्टीको आन्तरिम निर्वाचन समितिलाई अविलम्ब पूर्णता दिनु पर्ने, १५औँ महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिबासी जनजाती, थारु, मधेसी, मुस्लिम, पिछडा क्षेत्र र वर्ग एवम् अपाङ्गता भएकाहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने, स्थानीय, प्रदेश र सङ्घीय तहको निर्वाचनमा समानुपातिक  समावेशिताको सिद्धान्त अनुसार युवा उमेर समूहलाई समेत उम्मेदवार बनाउन प्राथमिकतामा राख्ने र संविधान संशोधनको सन्दर्भमा पार्टीमा वडादेखि केन्द्रीय तहसम्म व्यापक संवाद चलाई स्पष्ट दृष्टिकोण सहित पार्टीको अवधारणा निर्माण गर्ने उल्लेख छ ।

ज्ञापनपत्रमा भदौ २३ र २४ गते भएको घट्नाको निष्पक्ष छानबिन गरी आपराधिक कार्यमा संलग्न सबैलाई कानुनको दायरामा ल्याई कारबाही गर्न माग समेत गरिएको छ । ज्ञापनपत्रमा भनिएको छ–आजको गम्भीर र कठिन परिस्थितिको सामना नेपाली कांग्रेसको वैचारिक स्पष्टता र सांगठनिक एकताबाट मात्र सम्भव भएको उल्लेख गर्दै जारी केन्द्रीय समितिले यो भावनालाई सम्बोधन गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं । 

मागपत्र बुझाउनेमा केन्द्रीय सदस्यहरू राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डा. डिला संग्रौला, उदय शमशेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुरसिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी र चम्पादेवी खड्का, नारायणबहादुर कार्कीको नाम समावेश छ ।

नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्ने कि विशेष, चुनावअघि गर्ने कि पछि भन्नेमा विवाद भईरहे पनि झण्डै एक महिना अगाडिदेखि बसिरहेको केन्द्रीय समितिको बैठकले अहिलेसम्म कुनै ठोस निर्णय दिन सकेको छैन ।