काठमाडौं । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले आफूविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव दर्ता भएपछि पाँच जना सांसदलाई पदमुक्त गरेका छन् । 

सभामुख मण्डलले प्रदेशसभा बैठकमा लगातार १० पटक अनुपस्थित भएको आधारमा उनीहरूलाई सदस्य पदबाट हटाएको बताएका छन् ।

ad

पदमुक्त हुने सांसदमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह, जसपा नेपालका मनीष कुमार सुमन, सञ्जय कुमार यादवका साथै सिंहासन सा कलवार र शारदा शंकर प्रसाद कलवार रहेका छन् । सभामुखको कार्यालयले उनीहरूलाई पदमुक्त गरिएको सूचना प्रकाशित गरेको छ ।

सूचनामा भनिएको छ, ‘संविधानको धारा १८० (घ) अनुसार मधेश प्रदेशसभा बैठकको अभिलेखमा लगातार १० बैठकमा अनुपस्थित रहेका सांसदहरू कार्तिक २७ गतेदेखि प्रदेशसभा सदस्यबाट पदमुक्त भएको हुँदा उनीहरूको पद रिक्त भएको छ । यस निर्णयको सूचना सम्बन्धित सबैको जानकारीको लागि प्रकाशित गरिएको छ ।’