काठमाडौं । मधेश प्रदेशका ६४ जना सांसदले सभामुख रामचन्द्र मण्डलमाथि महाभियोग दर्ता गराएका छन् । 
सभामुख मण्डलले पदीय मर्यादा विपरीत काम गरेको भन्दै ७ दलका सांसदले प्रदेश सभामा महाभियोग दर्ता गराएका हुन् ।

महाभियोग दर्ता गराउनेमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र नेकपा माओवादी केन्द्र छन् ।

ad

प्रस्ताव पत्रमा सभामुख मण्डलले प्रदेश सभामा एक दलको निर्देशन बमोजिम पटक–पटक सभा सञ्चालन गरेको, विपक्षी दलका उपस्थिति विना पनि सभा सञ्चालन गरेको लगायतका आरोपहरू उल्लेख रहेको छ ।

सभामुख मण्डलले सभा कार्यसञ्चालन नियमावली २०७५, परिच्छेद २१, नियम १८० अनुसार पदीय अनुकूल र पदीय आचरण अनुकूल कार्य नगरेकाले पदमुक्त गर्न समेत माग गरिएको छ । 

केही दिनअघि पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन आह्वान गरेको प्रदेशसभा बैठकमा सोनल लगायत मन्त्रिपरिषद्का सांसद उपस्थित नभए पनि उनले सभा सुचारु गरेका थिए । 

विवाद बढेपछि निवर्तमान मुख्यमन्त्री सोनलले प्रदेशसभा बैठकमै राजीनामा घोषणा गरेका थिए ।