काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगम सञ्चालक समिति तथा व्यवस्थापनका अधिकारीहरूसँग छलफल गरेकी छिन् । बिहीबार सिंहदरबारमा बोलाएर उनले निगमको ए–३२० विमानको इजरायलमा रहेको इञ्जिन छिटो ल्याएर सञ्चालन गर्न निर्देशन दिएकी हुन्।

प्रधानमन्त्री कार्कीले जहाजको इञ्जिन इजरायलमा थन्क्याउने र भाडाको इन्जिन ल्याएर जहाज चलाउने प्रवृत्तिमाथि प्रश्न गर्दै यस्ता बेथिति सहेर बस्न नसकिने बताइन्।

ad

कुनै प्रक्रियागत बहाना नगर्न निर्देशन दिँदै उनले जनताको पैसा लगानी भएको संस्थालाई नै ग्राउन्डेड गर्ने अवस्था आउन दिन नहुनेमा जोड दिइन्। प्रधानमन्त्री कार्कीले देश, जनता र संस्थाको पक्षमा निर्णय गर्दा नडराउन पनि आग्रह गरिन्। 

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, निगमका अध्यक्ष विक्रम राई, निमित्त महाप्रबन्धक जनकराज कालाखेतीलगायत उपस्थित थिए ।