काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पदाधिकारी र सदस्यहरूले धारणा राख्ने क्रम सकिएको छ । करिब एक महिनादेखि जारी बैठक अब निर्णय चरणमा प्रवेश गरेको छ ।

गत असोज २८ गते सुरु भएको बैठकमा आज ठ्याक्कै एक महिनापछि पदाधिकारी र केन्द्रीय सदस्यहरूले आफ्नो धारणा प्रस्तुत गर्ने क्रम सकिएको हो । तर, बैठकले अझै कुनै ठोस निर्णय गरेको छैन ।

ad

मुख्य विवाद आगामी १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विषयमा रहेको छ । कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले महाधिवेशन मिति पुस १६ देखि १९ गतेसम्म राख्ने प्रस्ताव गरेका थिए भने सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म गर्ने वैकल्पिक कार्यतालिका प्रस्तुत गरेका थिए ।

बैठकमा यी दुई प्रस्तावमा विभाजित धारणा देखा परेको छ—थापाको प्रस्तावलाई इतर समूहका नेताहरूले समर्थन गरेका छन् भने यादवको प्रस्ताव संस्थापन पक्षले समर्थन गरेको छ ।

दुवै पक्षबीच सहमति जुटाउन नेताहरूले मध्यमार्गी समाधानको प्रयास गरे पनि अहिलेसम्म टुंगो लाग्न सकेको छैन । यही कारण बैठकले निर्णय गर्नुअघि एक दिनको समय खाली राखेर अन्तिम सहमतिको प्रयास गर्न लागेको नेताहरूले जनाएका छन् ।

शनिबार पुनः बस्ने बैठकले महाधिवेशनको मिति टुंग्याउने अपेक्षा गरिएको छ । पार्टीभित्र अहिले ‘पुस’ र ‘वैशाख’ दुई धारबीचको मतभेद नै सबैभन्दा ठूलो चुनौती बनेको छ ।