
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र बहुमतको निर्णयलाई अन्धानुकरण गर्दै अघि बढ्नु आफ्नो ठूलो राजनीतिक गल्ती भएको स्वीकार गरेका छन्।
कांग्रेस केन्द्रीय समितिको बैठकमा धारणा राख्दै उनले आफूले बारम्बार चेतावनी दिए पनि निर्णयहरूमा बहुमतका आधारमा सहमति जनाउनु अन्ततः पार्टी र देश दुवैका लागि हानिकारक भएको बताए।
थापाले भने, ‘स्थानीय तहको टिकट वितरणदेखि गठबन्धनसम्मका विषयमा म विरोधमा थिएँ। तर बहुमतले निर्णय गर्यो भनेर मानेँ — यही मेरो गल्ती थियो।’
उनले सभापति शेरबहादुर देउवासँगको सम्बन्ध र पुराना विवादबारे पनि खुलस्त बोले। ‘म दुईपल्टसम्म सभापतिजीलाई हराउन लागेकै हो। उहाँको विपक्षमा शेखर कोइरालालाई जिताउन खोजेकै हो। तर अन्ततः फेरि मिसिएर काम गर्नुपर्यो, र त्यसका कारण ममाथि नै आरोप लाग्यो,’ उनले भने।
थापाले पार्टीभित्र संवादको संस्कार कमजोर भएको भन्दै निन्दा र आरोप–प्रत्यारोपको राजनीति त्याग्न नेताहरूलाई आग्रह गरे। ‘मेरो बारेमा जे भनिन्छ, म घरसम्म लैजान्न। कांग्रेसको संस्कार संवाद हो, निन्दा होइन,’ उनले जोड दिए।
महामन्त्री थापाले कांग्रेसले माओवादी केन्द्रसँग गरेको चुनावी गठबन्धन, त्यसपछि एमालेसँग गरेको सहकार्य र नेतृत्व नबदल्ने प्रवृत्तिलाई पनि आफ्नै असफलता बताउँदै आत्मआलोचना गरे।
‘२०६८ सालदेखि नेतृत्व फेर्नुपर्छ भनेर भनिरहेँ, तर २०७८ आउँदासम्म पनि बिदा गराउन सकिनँ। त्यो मेरो कमजोरी हो,’ उनले भने।
थापाले अन्त्यमा भने,‘अब गल्ती दोहोर्याउँदिनँ। बहुमतको नाममा गलत निर्णयलाई समर्थन गर्दिनँ। पार्टी सुधारको लडाइँ निरन्तर चलाउँछु।’









Facebook Comments