ललितपुर । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले आसन्न चुनावअघि नै पार्टीको महाधिवेशन सम्पन्न गर्नुको विकल्प नभएको बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै उनले नेतृत्व परिवर्तन गरेर निर्वाचनमा गएमा काँग्रेस मुलुकको सबैभन्दा ठूलो पार्टी बन्न सक्ने दाबी गरेका छन् ।

उनले महामन्त्री गगन थापाले प्रस्तुत गरेको कार्यतालिका अनुसार नियमित महाधिवेशन २०८२ पुस मसान्तसम्म सम्पन्न गर्नुपर्नेमा जोड दिए । यदि त्यो सम्भव नभएमा विधानको धारा १७(२) बमोजिम केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले लिखित अनुरोध गरेकाले तीन महिनाभित्र विशेष महाधिवेशन गर्न अनिवार्य रहेको जिकिर गरेका छन् ।

ad

परियारले भदौ २३ र २४ गते भएको 'जेनजी' (नवयुवा) आन्दोलनलाई सामान्य सडक प्रदर्शनको रूपमा हेर्न नमिल्ने बताए । उक्त आन्दोलनले मुलुकको राजनीतिमा पुस्तान्तरण र रूपान्तरणको स्पष्ट आवाज उठाएको र भ्रष्टाचारमुक्त, पारदर्शी तथा सुशासनमा आधारित लोकतन्त्रको मागलाई प्रतिध्वनित गरेको उल्लेख गरे ।

उनले प्रदर्शनका क्रममा ज्यान गुमाएका ७२ जना नवयुवाहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे । साथै, प्रदर्शनका क्रममा सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवा लगायत पार्टीका साथीहरूमाथि भएको सांघातिक हमलाको भर्त्सना गर्दै उहाँहरूको स्वास्थ्य लाभको कामना गरे । विषम परिस्थितिमा सुझबुझपूर्ण पहलकदमी लिएकोमा सम्माननीय राष्ट्रपतिप्रति हार्दिक आभार व्यक्त गरे ।

परियारले ७२ जनाको ज्यान गुमेको जेनजी आन्दोलनले उठाएका मुद्दा कांग्रेसको पनि मुद्दा भएको र यसलाई बेवास्ता गर्न वा ढाकछोप गर्न नसकिने बताए । उनले भ्रष्टाचार नियन्त्रणका लागि वि.सं. २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना र २०५९ सालमा भ्रष्टाचार निवारण ऐन लगायतका कानूनहरू ल्याउन काँग्रेसको ठूलो योगदान रहेको स्मरण गरे ।

महाधिवेशन निर्वाचनपछि गरिएमा धेरै कार्यकर्ता र मतदाता सहभागी हुन नसक्ने र संगठनिक सशक्ततामा असर पर्ने उनको भनाई छ । उनले २०८२ पुस मसान्तसम्मको कार्यतालिका ल्याई नियमित महाधिवेशन सम्पन्न गरेर अघि बढ्नु अत्यावश्यक रहेको बताए । साथै, विधानको धारा १७(२) अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले बुझाएको प्रस्ताव विधिसम्मत रहेको र तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने कुरामा जोड दिए । उनले पूर्व केन्द्रीय सदस्य महेश आचार्यको फेसबुक स्ट्याटस साभार गर्दै चुनावअघि नै महाधिवेशन बोलाउन जरुरी रहेको धारणालाई समर्थन जनाए ।

परियारले सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचन समयमै होस् भन्ने पार्टीको धारणा भए पनि त्यसका लागि निर्वाचनको वातावरण सृजना गर्न सरकारलाई आग्रह गर्नुपर्ने बताए । जेनजी आन्दोलनमा लुटिएका हतियार, भागेका कैदी फिर्ता नहुनु र सुरक्षा निकायको मनोबल नबढ्दा स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण नबनेको उनको ठहर छ ।

उनले जेनजी आन्दोलनपछि देशका व्यापारी, उद्योगी व्यवसायीहरूको मनोबल गिरेको भन्दै लगानी मैत्री वातावरण, निजी सम्पत्तिको सुरक्षा, र बैंकिङ क्षेत्रमा देखिएको समस्या समाधानका लागि पार्टीले विशेष पहल गर्नुपर्ने आवश्यकता औँल्याए ।

अन्तमा, उनले गिरिजाप्रसाद कोइरालाले भनेजस्तै सहमति, सहकार्य र एकता आजको विषम परिस्थितिको अचुक उपाय भएको भन्दै पार्टीबाट एकताबद्ध निर्णय को अपेक्षा आम नेपाली जनता र अन्तर्राष्ट्रिय समुदायले गरिरहेको बताए ।

आज कार्तिक २५ गते नेपाली कांग्रेस, केन्द्रीय कार्यसमितिमा प्रस्तुत सम्पादित बिचार: 

आदरणीय कार्यबाहक सभापतिज्यू, 

आदरणीय पार्टी सभापतिज्यूले यहि असोज २८ गते समसामयिक परिस्थितिको बिष्लेषण गर्देै, सारगर्भिक मन्तव्य संगै उपसभापति आदरणीय पूर्णबहादुर खड्काज्यूलाई काबा सभापति दिनु भएकोमा उहाँलाई हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छु ।

सभापतिज्यू

१. यहि भाद्र २३ र २४ गते नवयुवा (Zen Z) हरुले भ्रष्टाचार विरुद्धको अभियान, सुशासन कायम गर्नुपर्ने तथा सामाजिक संजालको प्रतिबन्द बिरूद्धको माग राखि देशव्यापी विरोध प्रदर्शन गरेको थियो । उक्त प्रदर्शनका क्रममा प्रदर्शनकारी र  प्रहरी सहित झण्डै ७२ जनाले ज्यान गुमाउनु भएको छ । उक्त दुःखद  घटनामा दिवंगत हुनभएका नवयुवाहरुप्रति पुन: भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु । उक्त प्रदर्शनका क्रममा घाईते हुनभएका सम्पूर्णमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

२. प्रदर्शनका क्रममा घुषपैठ गरी नेपाली कांग्रेसका आदरणीय सभापति श्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा आरजु राणा देउवा लगायत देशै भरिका पार्टीका साथीहरुमाथि भएको सांघातिक हमलाको भ्रत्सना गर्दै उहाँहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

३. यस विषम परिस्थितिमा सम्माननीय राष्ट्रपतिज्यूको सुझबुझपूर्ण पहलकदमीप्रति हार्दिक आभार प्रकट गर्दछु ।

४. यतिबेला देश अत्यन्तै विषम परिस्थितिमा छ ।  यहि बिषम परिस्थितिको बीचमा पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा छौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनलाई हामीले केवल सामान्य सडक प्रदर्शनको रूपमा हेर्न सक्दैनौं। यो आन्दोलनले हाम्रो मुलुकको राजनीतिमा पुस्तान्तरण र रूपान्तरणको स्पष्ट आवाज उठाएको छ। यसले नेपाली जनताको भ्रष्टाचारमुक्त, पारदर्शी, सुशासनमा आधारित लोकतन्त्रको मागलाई प्रतिध्वनित गरेको छ। यसले सडकमा मात्र प्रदर्शन गर्नुको अतिरिक्त, आर्थिक असमानता, भ्रष्टाचार, र लोकतान्त्रिक प्रणालीको कमजोरीको सार्वजनिक चेतना जगाएको छ।

५. हामी, नेपाली कांग्रेस, सदैव जनताको पार्टीको रूपमा परिचित भयौं। हाम्रो मूल दायित्व नै आम नागरिकको चाहना, भावना, दृष्टिकोण र अपेक्षालाई सम्बोधन गर्नु हो। त्यसैले, ७२ जनाको ज्यान गुमेको जेनजी आन्दोलनले उठाएका मुद्दा हाम्रो पनि मुद्दा हो। यो केवल जेनजीको मात्र होइन, सम्पूर्ण नेपाली नागरिकको भविष्य र लोकतन्त्रको रक्षा सम्बन्धि मुद्दा हो। हामीले यो मुद्दालाई बेवास्ता गर्न सक्दैनौं, ढाकछोप गर्न सक्दैनौं। यो हाम्रो राजनीतिक दायित्व, नैतिक जिम्मेवारी र ऐतिहासिक अवसर हो।

६. म विगतको कुरा स्मरण गर्न चाहन्छु।
देशमा भ्रष्टाचार बढ्ने खतरा देखिएपछि नेपाली कांग्रेसले वि.सं. २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना गरेका थियौं। यसले हाम्रो पार्टीको भ्रष्टाचारविरोधी प्रतिबद्धता स्पष्ट प्रमाणित गर्‍यो। त्यसपछि, वि.सं. २०५९ सालमा हामीले भ्रष्टाचार निवारण ऐन, अख्तियार ऐन, विशेष अदालत ऐन ल्यायौं। यसैगरी, वि.सं. २०८१ साल चैतमा भ्रष्टाचार निवारण ऐनलाई सक्रियतापूर्वक पारित गराउन हामीले ठूलो नेतृत्व र सक्रियता देखाएका हौं।

७. यद्यपि, विगतदेखि उठाइरहेका जनताको मुद्दाहरू, जस्तै भ्रष्टाचारबाट प्राप्त सम्पत्तिको छानबिन, आर्थिक असमानता र दुरुपयोगको मुद्दा, अझै पूर्ण रूपमा समाधान हुन सकेको छैन। ढिलाई, कानूनी अवरोध र राजनीतिक असहयोगका कारण आजको जेनजी आन्दोलन उठ्न पुगेको हो। त्यसैले अब यो मुद्दालाई बेवास्ता गर्नु हाम्रो लागि स्वीकार्य छैन। हामीले यो सक्रिय नेतृत्व र वास्तविक सुधारको माध्यमबाट सम्बोधन गर्नुपर्ने आवश्यकता छ।

८. आदरणीय साथीहरू, हामी अहिले निर्वाचनको प्रक्रियामा छौं। पार्टी भित्र महाधिवेशन कहिले गर्ने भन्ने बहस चलिरहेको छ। मेरो विचारमा, यदि महाधिवेशन निर्वाचनपछि गरियो भने, धेरै कार्यकर्ता र मतदाता सहभागी हुन नसक्ने अवस्था आउन सक्छ। यसले हाम्रो संगठनिक सशक्तता र राजनीतिक प्रभावमा असर पुर्याउन सक्छ। त्यसैले, २०८२ पुस मसान्तसम्मको कार्यतालिका ल्याई नियमित महाधिवेशन सम्पन्न गरेर अघि बढ्नु अत्यावश्यक छ। यसरी महाधिवेशन सम्पन्न गर्न सके हामी आगामी निर्वाचनमा सबैभन्दा ठुलो र प्रभावशाली पार्टी बन्न सक्नेछौं। नियमित महाधिवेशनको कार्यतालिकाले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले बुझाउनु भएको नियमित/विशेष महाधिवेशनको पनि सम्बोधन हुन्छ ।

९. महाधिवेशन प्रतिनिधिहरुले गर्नु भएको हस्ताक्षरका बारेमा बिविध टिका टिप्पणी हुन थालेको छ । त्यस बारेमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पार्टीको विधानको धारा १७(२) बमोजिमको धाराले कुन मितिसम्म विशेष महाधिवेशनको प्रस्ताव गर्न मिल्ने हो भनेर स्पष्ट लेखिनु पर्दथ्यो । कति पटक प्रस्ताव राख्न मिल्ने हो ? कति समय कार्यकाल बाँकी रहँदा प्रस्ताव राख्न मिल्ने हो ? त्यो स्पष्ट छैन तसर्थ उक्त प्रस्ताव विधानसम्मत छ । विधिसम्मत छ । तीन महिना भित्र विशेष महाधिवेशन गर्न अनिवार्य छ ।

१०. यही सेप्टेम्बर १७ अर्थात असोज १ गतेका दिनमा सामाजिक संजाल फेसबुक मार्फत मैले यस कठिन परिस्थितिमा पार्टीको पुनर्गठन, नेतृत्वले त्याग गर्नुपर्ने, नेतृत्वको बहिर्गमन जस्ता विविध मागहरु सामाजिक संजालमा आउन थालेको सन्दर्भमा मेरो व्यक्तिगत विचारमा पार्टी विधानको धारा १७ को केन्द्रीय महाधिवेशन प्रतिनिधिको कार्यविधिको उपधारा (२) बमोजिम केन्द्रीय कार्यसमितिले आबश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरुले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन बिशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिना भित्रमा बिशेष केन्द्रीय महाधिवेशन बोलाउनु पर्नेछ । भन्ने धारा प्रयोग गरी केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न उपर्युक्त देखेको छु । भनेर लेखेको थिएँ ।

११. डा. शेखर कोईराला लगायत हामी केही साथीहरूले पार्टीको आगामी १५ ओैं महाधिवेशन पनि २०८२ मंसिर मसान्तसम्म गर्न आबश्यक छ भनेर झण्डै एक बर्ष अगाडिको केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव  गरेका थियौ । तर त्यस तर्फ कसैको ध्यान जान सकेन । जब भाद्र २३ र २४ गते जेनजी आन्दोलन भयो त्यसपछि हामीलाई लाग्न थाल्यो की किन हामीले महाधिवेशनको तयारी गरेनौ । यसै परिबेशमा पटक पटक जुम मार्फत पदाधिकारी/पूर्व पदाधिकारी/कार्यसम्पादन समितिको बैठक बसेर घनिभूत छलफल गर्यौ । हाम्रा बीचमा केही बिषयमा मतैक्यता हुन सकेन। त्यसपछि पार्टीका ओैपचारिक बैठकहरुमा हाम्रा धारणाहरु आ-आफ्नो तरिकाबाट प्रस्तुुत गरेका छौ ।

१२. जेनजी आन्दोलन पछिको पार्टीको पहिलो फिजिकल बैठक २०८२ असोज २३ (पार्टी कार्यालय) गते महामन्त्री गगन कुमार थापाले बोल्दा पार्टीको नियमित महाधिवेशन मंसिर मसान्तसम्म गरौ यदि सम्भव नभएमा विशेष महाधिवेशन गरौं भनेर भनेको कुरा स्मरण गर्न चाहन्छु । उक्त बैठकमा हामीले आ-आफ्नो धारणा राखेका थियौ । डा. शेखर कोईरालाले पनि २०८२ मंसिर मसान्तसम्म नियमित महाधिवेशन गरौ, भननी प्रस्ताव गर्नु भएको थियो । हामी केही पदाधिकारीले पनि उक्त प्रस्तावको पक्षमा धारणा राखेका थियौं ।

१३. (यसै सन्दर्भमा नेपाली कांग्रेसका बौद्धिक नेता, पूर्व केन्द्रीय सदस्य आदरणीय दाजु महेश आचार्यको फेसबुक कार्तिक २१ गतेबाट, साभार )
"महाधिवेशनबाट आएको नयाँ नेतृत्व, नयाँ मार्गचित्र र नयाँ संकल्पले मात्र पुनर्जागरण संभव हुन्छ !
हाम्रो लोकतन्त्र र संविधानमा गंभीर कम्पन उत्पन्न गर्ने गरी भएको नयाँ पुस्ताको आन्दोलनपछि पनि राजनैतिक दल र तिन्का नेतृत्वतहमा अझै व्याप्त तदर्थवाद र आत्मसमीक्षा नगर्ने उदासिनता उदेकलाग्दो छ।म खासगरी कांग्रेस कार्यसमितिमा लम्बिदो अन्यौल र व्यापक सुधारको जनचाहना विपरीतका चेष्टा देख्दा अत्यन्त क्षुब्ध छु।मेरो दृष्टिमा वैधानिक, राजनैतिक र नैतिक कारणले समेत कांग्रेसले तत्काल - विशेष होस वा नियमित - चुनाव अघि महाधिवेशन बोलाउन जरुरी देख्छु।समयले भ्याइदैन भन्नु असक्षमता र अदुरदर्शिता हुनेछ।"

१४. वर्तमान सरकारको गठन र संसद विघटन अलोकतान्त्रिक र असंबैधानिक हो भन्ने कुरा हामीले विगतको बैठकमानै गरेका छौ । यतिबेला सरकारले घोषणा  गरेको फागुन २१ को निर्वाचन समयमानै होस् भन्ने हाम्रो धारणा हो । तर सरकारले जेनजी आन्दोलनमा लुटिएका हतियार, गोली, भागेका कैदीलाई फिर्ता गर्न सकेको छैन । सुरक्षा निकायका आगजनी र तोडफोड भएका संरचना बनेका छैनन । प्रहरी, सेना, कर्मचारी, न्यायाधीशको मनोबल बढाउने काम गर्न सकेको छैन साथै आम जनतामा स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन हुन्छ भन्ने बातावरण हालसम्म बनेको छैन । तसर्थ सरकारलाई निर्वाचनको बाताबरण सृजना गर्न आग्रह गर्नु पर्दछ ।

१५. जेनजी आन्दोलन पछि देशका व्यापारी, उधोगी व्यवसायीहरुको समेत मनोवल गिरेको छ । लगानी मैत्री बातावरणमा गिरावट आएको छ । निजी सम्पत्तिको ठुलो नोक्सानी भएको छ । सार्वजनिक संस्थाहरु आगजनीले ध्वस्त पारिएकोछ । निर्माण व्यबसायीको ठेक्का तोड्ने प्रकृयाले निर्माण व्यबसाय क्षेत्र मात्र नभएर बैकिङ्ग क्षेत्रमा समेत Force Lone बुक भएर ठुलो समस्या निर्माण हुने अवस्था छ । यस बिषयमा समेत पार्टीले विशेष पहल गर्न आबश्यकता छ ।

१६. यतिबेला आम नेपाली जनता र अन्तर्राष्ट्रिय समुदायले समेत नेपाली कांग्रेस पार्टीको निर्णय पर्खेर बसेको छ । पार्टीमा एकताबद्ध निर्णय र प्रयास आजको आबश्यकता हो । तसर्थ गिरिजाप्रसाद कोईरालाले भनेजस्तै सहमति, सहकार्य र एकता आजको नेपालको विषय परिस्थितिको अचुक उपाय हो । 

जय नेपाल !


जीवन परियार
सहमहामन्त्री, नेपाली कांग्रेस ।
२०८२ कार्तिक २५