
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबीच आज ७ बुँदे सहमति भएको छ ।
नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा भएको एक कार्यक्रमबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा नेकपाका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र भीम रावलको हस्ताक्षर रहेको छ ।
सात बुँदे सहमति गरेर भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।
यस्ता छन् सहमतिका बुँदा
१. नेपाल र नेपाली जनताको सर्वोपरी हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै वाह्य हस्तक्षेप र दवावबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने ।
२. समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक(सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने ।
३. आगामी ६ महिना भित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने । महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने । सबै तहमा र मातृभूमि जागरण अभियान, नेपाल अन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने ।
४. नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमी जागरण अभियान, नेपालका संयोजक डा. भीम रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने ।
५. पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम लगायतका दस्तावेजहरु आपसमा मिलेर तयार
गर्ने ।
६. पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने । सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने ।
७. पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकता अनुसार कार्यदल गठन गर्ने ।









Facebook Comments