
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्र महाधिवेशनसम्बन्धी बढ्दो मतभेदले गम्भीर संकट निम्त्याउने चेतावनी दिएका छन् । उनले विशेष र नियमित महाधिवेशनबारेको विवाद समाधान नभए पार्टी विभाजनसम्म पुग्ने सम्भावना रहेको बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारसँग कुरा गर्दै डा. कोइरालाले केन्द्रीय समितिले अब ढिलो नगरी ठोस निर्णय गर्नुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार निर्णयमा ढिलाइ भइरहे पार्टी संगठनात्मक रूपमा कमजोर हुँदै जाने खतरा बढ्दै गएको छ ।
उनका भनाइमा, विशेष महाधिवेशनको माग गर्दै करिब ५५ प्रतिशत प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेका छन् । ती हस्ताक्षर प्रमाणीकरणको प्रक्रिया सुरु भएपछि कांग्रेसभित्र औपचारिक विभाजनको स्थिति आउन सक्ने उनको तर्क छ ।
‘यो विषय केन्द्रीय समितिबाटै निष्कर्षमा नपुग्दा पार्टी दुई धारमा जान सक्ने संकेत देखिँदै छ,’ कोइरालाले भने, ‘विशेष महाधिवेशनको माग गर्ने साथीहरूको संख्या आधाभन्दा बढी छ । यदि प्रमाणीकरण प्रक्रिया सुरु भयो भने विभाजनको सम्भावना झन् बढ्छ । त्यसैले प्रतिशतको हिसाबमा होइन, सहमतिको आधारमा निर्णय गर्न सके कांग्रेस एकताका साथ अघि बढ्न सक्छ ।’
उनले पार्टी नेतृत्वलाई आन्तरिक एकता कायम राख्दै सहमतिको बाटो खोज्न आग्रह गर्दै चेतावनी दिए, ‘अब पनि समयमै निर्णय गर्न नसके कांग्रेस फेरि अराजक दिशातिर जान सक्छ ।’









Facebook Comments