
काठमाडौं । राजधानीको पाँचतारे होटल हायात रिजेन्सीले भाद्र २४ गते भएको तोडफोड, लुटपाट र आगलागीको घटनापछि होटल पूर्ण रूपमा बन्द भएको र मर्मत सम्भार सम्पन्न नभएसम्म सञ्चालन सम्भव नभएको भन्दै सम्पूर्ण १३३ जना श्रमिक कटौती गर्ने निर्णय गरेको छ ।
होटलका महाप्रबन्धक आशीष कुमारद्वारा हस्ताक्षरित सूचना अनुसार श्रम ऐन २०७४ को दफा १४५ बमोजिम श्रमिक कटौतीको निर्णय कात्तिक २२ गतेदेखि लागू हुने गरी गरिएको हो ।
सूचनामा भनिएको छ, ‘मिति २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा होटल परिसरमा आपराधिक समूह प्रवेश गरी तोडफोड, लुटपाट र आगलागी गरेपछि होटलमा ठूलो क्षति पुगेको छ । त्यसै दिनदेखि होटल पूर्ण रूपमा बन्द रहँदै आएको छ र भवनहरू मर्मत नगरी सञ्चालनमा ल्याउन असम्भव भएको छ ।
घटनाक्रममा होटलमा बसोबास गरिरहेका एक विदेशी पाहुनाले ज्यान जोगाउने प्रयासमा चौथो तलाबाट हामफाल्दा गम्भीर घाइते भई उपचारका क्रममा निधन भएको उल्लेख गरिएको छ । अन्य विदेशी पाहुनाहरूका सामान लुटपाट र आगलागीबाट नष्ट भएका र यसले हायात रिजेन्सीको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पारेको पनि सूचनामा जनाइएको छ ।
कोभिड–१९ महामारीका कारण लामो समय बन्द रहँदा होटलले ठूलो आर्थिक नोक्सानी व्यहोरेको र पुनः सुधारको संकेत देखिन थालेको बेला भाद्र २४ को घटनाले फेरि गम्भीर संकट निम्त्याएको होटलको भनाइ छ । मर्मतका लागि करोडौँ रुपैयाँ लाग्ने अनुमान गर्दै, त्यस अवधिमा कुनै आम्दानी नहुने हुँदा होटल सञ्चालन असम्भव भएको उल्लेख गरिएको छ ।
होटलका ट्रेड युनियनहरूसँग वैकल्पिक व्यवस्थाबारे छलफल गरे पनि सहमति नजुटेको र मर्मतका लागि स्रोत जुटाउनुपर्ने बाध्यता देखिँदा श्रमिकलाई काममा राख्न नसकिएको होटलले स्पष्ट पारेको छ ।
हायात रिजेन्सीमा भएको यो निर्णयले नेपालको पर्यटन र आतिथ्य क्षेत्रमै ठूलो असर पार्ने अनुमान गरिएको छ । होटल पूर्ण मर्मत सम्पन्न नभएसम्म पुनः सञ्चालन हुने सम्भावना न्यून रहेको प्रष्ट संकेत गरिएको छ ।








Facebook Comments