काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकताको पहल गर्दै पूर्व सहकर्मी र हाल जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईलाई एकताको प्रस्ताव गरेका छन् ।

२०७८ सालमा राईले यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर नयाँ पार्टी गठन गरेका थिए । डेढ वर्षपछि यादवले पुनः घर फर्क अभियानमार्फत पुराना सहकर्मीहरूलाई एउटै छातामुनि ल्याउने प्रयास थालेका हुन् ।

ad

यादवले पार्टीका शीर्ष नेताहरूलाई पठाएर राईलाई औपचारिक रूपमा एकताको प्रस्ताव गरेका छन् । जसपा महासचिव इस्तियाक राईले पनि प्रस्ताव आएको पुष्टि गर्दै भने, 'एकता र सहकार्यका लागि जसपा नेपालका शीर्ष नेताहरू हामीकहाँ आएका थिए । हामीले त्यसलाई सकारात्मक रूपमा लिएका छौँ ।'

तर, राई नेतृत्वको जसपाले तत्काल एकता भन्दा पनि सहकार्य र मोर्चाबन्दीलाई प्राथमिकता दिएको छ । महासचिव राईका अनुसार, 'विगतका अनुभव हेर्दा हतारमा गरिएको एकता दीगो बन्न सकेन । त्यसैले अहिले अधिकार र पहिचानका मुद्दामा साझा मोर्चा बनाएर अघि बढ्ने सोच बनाएका छौँ ।'

उनले एकता र सहकार्यका लागि पार्टी खुलेको बताउँदै त्यसका लागि कार्यदल गठन गरिएको जानकारी दिए । 'विभिन्न दलबाट पनि प्रस्ताव आएका छन्,' उनले भने, 'तर अहिलेसम्म कसैसँग ठोस निर्णय भएको छैन ।'

सञ्चारमाध्यममा जसपाले अन्य पार्टीहरूसँग एकता गर्न लागेको भन्ने समाचार असत्य भएको उनको दाबी छ । 'अहिलेसम्म कुनै पार्टीसँग औपचारिक छलफलसमेत भएको छैन,' उनले स्पष्ट पारे ।

कात्तिक २० गते सम्पन्न जसपाको केन्द्रीय समितिको बैठकमा पनि एकता र सहकार्यका विषयमा प्राथमिक छलफल भएको थियो । उक्त विषयमा अन्तिम निर्णय आगामी कार्यकारिणी समितिको बैठकले गर्ने जनाइएको छ ।

यता जसपा नेपालले अशोक राईको पार्टीसँग मात्र नभई महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग पनि एकताको पहल थालेको छ । यादव र ठाकुरबीच पछिल्ला दिनमा नियमित संवाद भइरहेको बताइएको छ ।

पार्टी अध्यक्ष यादवले तत्कालीन मधेसी जनअधिकार फोरम नेपालदेखि अहिलेका विभाजित समूहसम्मका सबै नेताहरूलाई पुनः एउटै राजनीतिक धारमा फर्कन आग्रह गरेका छन् । 

उनका अनुसार, 'मधेसी राजनीति टुक्राटुक्रा भएर कमजोर भएको छ, अब सबैलाई एकतामा ल्याएर नयाँ दिशा दिन समय आएको हो ।'