काठमाडौं । भारतको राजधानी दिल्लीस्थित ऐतिहासिक लाल किल्ला नजिकै सोमबार साँझ शक्तिशाली कार विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । विस्फोटको कारण अझै खुल्न सकेको छैन, तर यसले दिल्लीसहित मुम्बई, हरियाणा र उत्तर प्रदेशमा उच्च सतर्कता अपनाइएको छ ।

प्राप्त विवरणअनुसार साँझ करिब ६ः५५ बजे फोर्ट मेट्रो स्टेसनको गेट नम्बर १ नजिकैको पार्किङ क्षेत्रमा रोकिराखिएको एउटा इको कारमा अचानक विस्फोट भएको थियो । 

ad

विस्फोट यति शक्तिशाली थियो कि यसबाट लागेको आगो तीव्र गतिमा फैलिएको र नजिकै पार्किङमा रहेका थप तीनवटा गाडीहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

घटनालगत्तै दिल्ली प्रहरीले सम्पूर्ण क्षेत्रलाई घेरा हालेको छ । फरेन्सिक विशेषज्ञहरूको टोली घटनास्थलमा पुगेर प्रमाण संकलन र अनुसन्धान थालेको छ । प्रहरीले आसपासका सीसीटीभी क्यामेराका फुटेजहरू विश्लेषण गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गृहमन्त्री अमित शाहसँग घटनाबारे तत्काल छलफल गरेका छन् । राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) र राष्ट्रिय सुरक्षा गार्ड (एनएसजी)का विशेष टोलीहरूलाई पनि घटनास्थलतर्फ खटाइएको छ ।