
काठमाडौं । नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित हस्ताक्षर अभियान सुरु गरेपछि पार्टीभित्र नयाँ तरंग उत्पन्न भएको छ ।
घिमिरेको यो कदमले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई थप दबाबमा पारेको बताइन्छ । सिंगापुरमा उपचाररत सभापति शेरबहादुर देउवा र खड्काको मौन सहमतिपछि अभियान सुरु भएको दाबी गरिएको छ । घिमिरेसँगै सांसद सुशीला थिङ पनि सक्रिय रूपमा अभियानमा जुटेकी छन् ।
घिमिरेका अनुसार हस्ताक्षर संकलनको उद्देश्य केन्द्रीय समितिमा प्रतिनिधिसभा पुनर्स्थापना वा निर्वाचनबारे औपचारिक निर्णय गराउने हो । सोमबार साँझसम्म करिब ५० सांसदले हस्ताक्षर गरिसकेको उनको दाबी छ ।
तर, कांग्रेसभित्रका नेताहरू भने यस अभियानप्रति विभाजित देखिएका छन् । कार्यवाहक सभापति खड्का निकट डा. शेखर कोइराला र महामन्त्री गगन थापाले खुलेर विरोध गरेका छन् । उनीहरूले निर्वाचन नै संविधानलाई सही बाटोमा फर्काउने उपाय भएको बताएका छन् ।
पूर्वउपसभापति विमलेन्द्र निधि र प्रकाशमान सिंह पनि पुनर्स्थापनाको विपक्षमा उभिएका छन् । उनीहरूले पुनर्स्थापनाले फेरि अस्थिर गठबन्धन र राजनीतिक संकट दोहोर्याउने तर्क गरेका छन् ।
तर, घिमिरेले भने आफ्नो कदमलाई लोकतान्त्रिक अधिकारको प्रयोग बताएका छन् । उनका अनुसार संसद् पुनर्स्थापना र संविधान संशोधन गरेर मात्रै जेनजी आन्दोलनका मागहरू पूरा गर्न सकिन्छ । उनले कार्यवाहक सभापति खड्कासँग अनुमति नलिई हस्ताक्षर सुरु गरेको पनि स्पष्ट पारे ।
कांग्रेसभित्र अहिले दुई धार प्रष्ट देखिएका छन्, 'एक पक्षले निर्वाचनलाई समाधान ठान्दछ भने अर्को पक्ष संसद् पुनर्स्थापनामार्फत स्थायित्व खोज्दै छ ।'









Facebook Comments