काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हालको राजनीतिक गतिरोधको एकमात्र समाधान प्रतिनिधिसभा पुनःस्थापना नै भएको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारप्रति तीव्र आक्रोश प्रकट गर्दै लोकतन्त्र र राष्ट्रिय सार्वभौमसत्ताको रक्षा गर्न सबै दलबीच न्यूनतम राष्ट्रिय सहमति आवश्यक रहेको औँल्याए।

ad

ओलीले हालै प्रधानमन्त्रीले दिएका अभिव्यक्तिप्रति कटाक्ष गर्दै भने,'प्रधानमन्त्रीले ‘नेताको अनुहार हेर्न मन छैन’ भन्ने खालका कुरा गर्नु, त्यो पनि सार्वजनिक मञ्चमा, लोकतान्त्रिक संस्कृतिसँग मेल खाँदैन।'

उनले भने, 'देशलाई लोकतान्त्रिक बाटोबाट अघि बढाउन संसद पुनःस्थापना गर्नैपर्छ। त्यसबिना स्थिरता आउँदैन।'

ओलीका अनुसार अहिलेको सरकारले चुनावको तयारी नगरी जनतासँग टाढिने काम गरिरहेको छ, जुन संविधानको मर्मविपरीत हो।


एमाले अध्यक्ष ओलीले सरकारमाथि चुनाव टार्ने षड्यन्त्रको आरोप पनि लगाए।उनले भने,'नेतालाई घरबाट निस्कन नदिने, चुनावमा भाग लिन नदिने, धम्की र डर देखाउने काम भइरहँदा सरकारले आँखा चिम्लिएको छ। यस्तो सरकार जनतामुखी होइन।'

उनले जोड दिए, संसद पुनःस्थापना गरेर देशलाई नयाँ दिशामा लैजानु अहिलेको अपरिहार्यता हो।

ओलीले एमालेलाई लोकतन्त्र पुनःस्थापनाको अग्रपङ्क्तिमा रहेको पार्टी भन्दै त्यसको ऐतिहासिक भूमिका स्मरण गरे।उनका शब्दमा,'एमालेको घर जल्न सक्छ, तर पार्टी कहिल्यै जल्दैन। एमाले बलियो विचार, संगठन र जनतामाथि टेकेको पार्टी हो।'

उनले पार्टीभित्रको एकतालाई बलियो बनाउन आह्वान गर्दै जनतालाई लोकतान्त्रिक मूल्यका पक्षमा उभिन आग्रह गरे।

ओलीले पार्टीले आगामी २७ मंसिरमा काठमाडौंमा अहिलेसम्मकै ठूलो जनशक्ति प्रदर्शन गर्ने घोषणा पनि गरे।उनले भने,'कतिपयले सोध्छन्— एमाले के हो, कस्तो पार्टी हो? मंसिर २७ गते काठमाडौं आइपुग्नुस्, एमालेको लोकतान्त्रिक अभ्यास आफ्नै आँखाले हेर्नुहोस्।'

पार्टी स्रोतका अनुसार उक्त कार्यक्रममा देशभरका प्रमुख नेता, जनसंगठन र हजारौं कार्यकर्ता सहभागी हुने तयारी भइरहेको छ।

ओलीले आफ्नो सम्बोधनको अन्त्यतिर राजनीतिक रूपक प्रयोग गर्दै भने,'थोरै दुर्जनहरूले सज्जनहरूलाई सताइरहेका छन्, तर देशमा सज्जनहरूको संख्या धेरै छ। नेताको शक्ति जनतामा छ, त्यसैले दुष्ट्याइँ धेरै लामो टिक्दैन।'

उनले प्रतिक्रियावादी शक्तिहरूले अस्थिरता ल्याउने सपना देखिरहेको भन्दै ती प्रयासलाई 'निन्द्रामा खाएको चकलेटजस्तो असम्भव कल्पना' भने।