काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन सरकारसँग आग्रह गरेका छन् । सिटौलाले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन सार्ने वा टार्ने काम नगर्न पनि सचेत गराए ।

गणेशमान सिंहको जन्मजयन्तीको अवसर पारेर सोमबार (कात्तिक २४) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुक संकटमा फसेको उल्लेख गर्दै त्यसको निदानका लागि निर्वाचनमा जानुको विकल्प नरहेको उल्लेख गरे । नेता सिटौलाले मुलुकलाई संकटबाट निकास दिन सबै राजनीतिक दलहरू मिलेर नयाँ समझदारीका साथ अघि बढनुपर्ने आवश्यकता समेत औँल्याए ।

ad

उनले भने, 'प्रधानमन्त्रीलाई मैले भनेको छु निर्वाचन गराउन सफल हुनुहोस् । निर्वाचन सार्ने कुरा नगर्नुहोला । निर्वाचन टार्ने कसैले तपाईंलाई सुझाव दियो भने नमान्नुहोला भनेर मैले सुझाव दिएको छु । त्यसकारण फागुन २१ गते टाढा छैन । चार महिना पनि छैन अब । त्यो निर्वाचनलाई कसरी सफल बनाउने हो ? त्यो तपाईं हामी सबैको चुनौतीको रूपमा आएको छ ।' 

नेता सिटौलाले मुलुकलाई निकास दिन लोकतान्त्रिक शक्तिहरूले मिलेर काम गर्नुगर्ने समेत बताए ।