काठमाडौं । लामो राजनीतिक घुम्ती पार गर्दै पूर्वमन्त्रीद्वय रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ (किसान) पुनः एमालेमा प्रवेश गरेका छन् । 

सोमबार एमालेले सञ्चालन गरेको ‘घर फर्क राष्ट्रिय अभियान’ अन्तर्गत उनीहरू पुनः पार्टी प्रवेश गरेका हुन्।

ad

झाँक्रीले पार्टी प्रवेश कार्यक्रममा खुलेर भनिन्,‘एमाले छोड्नु मेरो गल्ती थियो, समयले त्यसको सजाय दिएको छ र दिइरहेको छ।’

उनका अनुसार एमाले नेपालमा कम्युनिस्ट आन्दोलनको मात्र होइन, राष्ट्रिय राजनीतिको पनि मूल प्रवाह हो। त्यही कारणले आफू पुनः त्यसै धारमा फर्किएको उनले स्पष्ट पारिन्।

कार्यक्रममा बोल्दै झाँक्रीले पछिल्ला महिनामा देखिएको जेनजी आन्दोलन लाई ‘सरकार र एमालेविरुद्धको योजनाबद्ध षड्यन्त्र’ का रूपमा व्याख्या गरिन्। उनले भनिन्, ‘एमालेको नर्सरीमा हुर्किएका सबै युवाले राष्ट्रको जिम्मेवारी लिन एकै ठाउँमा उभिनुपर्छ। आन्दोलनको नाममा भ्रम फैलाउनु राष्ट्रविरुद्धको काम हो।’

उनले जेनजीका युवाहरूप्रति आह्वान गर्दै पार्टी प्रवेशका ढोका खुला रहेको बताउँदै युवाशक्ति मूल प्रवाहमा फर्कनुपर्ने सन्देश दिइन्।

झाँक्रीले पूर्वसहकर्मी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा आफू बसेको समयलाई राजनीतिक विचलनको रूपमा स्मरण गरिन्।

‘माधव नेपालज्यूको पछि लाग्दा हामीले सोचेजस्तो हुन सकेन, अब फेरि जनताको भरोसा जित्न मूलधारमा फर्किनैपर्छ,’ उनको भनाइ छ । 

सोही कार्यक्रममा एकीकृत समाजवादीका श्रेष्ठले आत्मालोचना गर्दै भने, ‘एमाले छोड्नु मेरो राजनीतिक जीवनकै सबैभन्दा ठूलो गल्ती थियो। अब जनताको विश्वास जित्नेगरी काम गर्छु।’ उनले देशभर आफ्नैजस्ता धेरै नेताहरू र कार्यकर्ता क्रमशः एमालेमा फर्कने विश्वास पनि व्यक्त गरे।

एमालेले हाल देशभर सञ्चालन गरिरहेको ‘घर फर्क राष्ट्रिय अभियान’ ले उल्लेखनीय तरंग ल्याएको छ। दल विभाजन र निराशाको वर्षपछि पुराना नेताहरू पुनः फर्किन थालेका छन्।

पार्टी स्रोतका अनुसार, आगामी केही साताभित्र अझै धेरै पुराना नेताहरू र स्थानीय तहका संरचना पुनः एमालेमा फर्कने सम्भावना छ।