काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावल अब नयाँ राजनीतिक घराना रोज्ने तयारीमा छन्। माओवादी केन्द्र, एकीकृत समाजवादी र साना वाम दलहरूको सहकार्यमा गठन भइरहेको नयाँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उनले सकारात्मक संकेत दिएका छन्।

एमालेले आन्तरिक कारबाही गर्दै निष्क्रिय पारेपछि रावलले केही महिना अघि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सञ्चालन गरेका थिए। सो अभियानमार्फत सक्रिय रहेका रावल पछिल्लो केही सातायता नयाँ नेकपाको शीर्ष नेताहरूसँग निरन्तर सम्पर्कमा छन्।

ad

आज साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, र नेताहरू प्रकाश ज्वाला तथा भानुभक्त जोशीसँग भएको भेटमा रावलले नयाँ नेकपामा सामेल हुन सकारात्मक भएका हुन्।

छलफलमा सहभागी एक नेताका अनुसार रावलले भने,'राष्ट्रियता र राजनीतिक शुद्धताको प्रश्नमा हाम्रो सोच मिल्दोजुल्दो छ। त्यसैले सहकार्यतर्फ अग्रसर छु।'

नेताहरूबीच भएको प्रारम्भिक समझदारीअनुसार, २०७५ सालमा एमाले र माओवादीबीच भएको पार्टी एकताको संरचना र वरियतालाई आधार मानी रावललाई नयाँ नेकपामा सम्मानजनक भूमिका दिने तयारी भएको छ।

रावल सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रभावशाली नेताका रूपमा परिचित छन्।माओवादी केन्द्र र एकीकृत समाजवादी दुबै दलका शीर्ष नेताहरूले उनको आगमनले ती प्रदेशमा वाम एकताको मनोबल बलियो पार्ने विश्वास लिएका छन्।

एकीकृत समाजवादीका वरिष्ठ नेता प्रकाश ज्वालाले भने, 'रावलजीसँगको संवाद सकारात्मक भयो। अब वाम एकताको नयाँ अध्याय सुरु हुन्छ।'

स्रोतका अनुसार, आगामी कात्तिक २७ गते काठमाडौंमा नयाँ नेकपाको औपचारिक एकता कार्यक्रम आयोजना गरिँदै छ।

त्यसअघि दाहाल, नेपाल र रावलबीच एक–दुई चरणको अन्तिम परामर्शपछि पार्टीमा औपचारिक प्रवेश घोषणा गरिने तयारी छ।

एमालेले २०८१ पुसमा रावलमाथि पार्टी अनुशासन उल्लङ्घन गरेको आरोप लगाउँदै संगठित सदस्यता नै खारेज गरेको थियो।

त्यसअघि २०७८ मंसिरमा चितवनमा सम्पन्न १०औं महाधिवेशनमा रावलले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका थिए।
तर पराजयपछि उनले पार्टी नेतृत्वको एकल स्वेच्छाचारिताको खुलेर विरोध गरे।

त्यसयता रावल एमाले नेतृत्वप्रति आलोचक बन्दै आएका छन्।उनको पार्टी प्रवेशलाई वाम राजनीतिभित्रको नयाँ शक्ति सन्तुलनको रूपमा हेरिँदै छ।

भीम रावलको नयाँ नेकपामा सम्भावित प्रवेशले वाम राजनीति पुनः चर्किएको छ।एमालेभित्र असन्तुष्टहरू उनका पछाडि लाग्ने सम्भावना बढ्दै जाँदा, प्रचण्ड–नेपाल नेतृत्वको गठबन्धनले पनि वाम पुनर्गठनको नयाँ रणनीति अघि सारेको देखिन्छ।