दाङ । जेनजी आन्दोलनका क्रममा दाङमा भएको तोडफोड र आगजनी घटनामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराहीस्थित जिल्ला अदालत कार्यालय, ट्राफिक प्रहरी कार्यालय दाङ, र घोराही उपमहानगरपालिका–१५ अन्तर्गत भानुचोकमा रहेको प्रहरी बिटमा भएको ढुंगामुढा, तोडफोड र आगजनी घटनामा संलग्न नौ जनालाई नियन्त्रणमा लिइएको हो।

ad

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी चक्रबहादुर शाहका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।

पक्राउ पर्नेमा घोराही–१५ का सुनिल थापा मगर (२४ वर्ष), कुनाल श्रेष्ठ (२४ वर्ष), इनाहित कुरेसी (२४ वर्ष), टेकम डाँगी (१८ वर्ष) र विवेक पुन मगर (१८ वर्ष) रहेका छन्।

त्यस्तै, सल्यानको छत्रेश्वरी गाउँपालिका–४ का अमरबहादुर वली (२६ वर्ष), घोराही–१३ का महेश घिमिरे (२९ वर्ष), घोराही–९ ढिकपुरका शरद् बस्नेत, र घोराही–१३ का सन्दीप घर्ती (२५ वर्ष) पनि पक्राउ परेका हुन्।

उनीहरू जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते जिल्लास्थित सरकारी कार्यालय र निजी सम्पत्तिमा तोडफोड तथा आगजनी गरेको आरोपमा पक्राउ परेका हुन्।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी जारी रहेको जनाएको छ।