
काठमाडौं । पहिलो संविधानसभाका चार जना पूर्व–सभासदसहितको टोलीले आगामी निर्वाचनमा महिला उम्मेदवारको समान प्रतिनिधित्व सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
पूर्व–सभासद रेणु चन्द, डा. बिन्दा पाण्डे, अमृता थापा मगर र सुनीलबाबु पन्तलगायतको टोलीले शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटी प्रत्यक्ष निर्वाचन प्रणालीमै ५० प्रतिशत महिला उम्मेदवार उठाउने कानुनी व्यवस्था गर्न माग गरेको हो।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले टोलीको प्रस्तावप्रति सहानुभूति जनाउँदै मन्त्रिपरिषद्मा छलफल गरेर सम्भाव्य कदम चाल्ने आश्वासन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले दिए।
प्रतिनिधिमण्डलले संविधानले अंगीकार गरेको समानुपातिक समावेशी सिद्धान्त निर्वाचन कानुनमा पर्याप्त रूपमा प्रतिबिम्बित नभएको औंल्याउँदै, 'संविधानको मर्म कार्यान्वयन गर्न अध्यादेश ल्याएर भए पनि कानुन सच्याइनुपर्छ,' भनेर प्रधानमन्त्रीसमक्ष जोड दिएको थियो।
भेटमा अधिकारकर्मी उषाकिरण तिम्सेना, सम्झना पौडेल र प्रतीक्षा चापागाईं लगायतको सहभागिता पनि थियो।









Facebook Comments