काठमाडौं । नेकपा (माओवादी केन्द्र) सँगको एकता प्रक्रियामा असहमति जनाउँदै आएकी नेतृ रामकुमारी झाँक्री पुनः नेकपा (एमाले) फर्कने भएकी छन्।

भोलि (सोमबार) दिउँसो साढे २ बजे काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना हुने ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’ कार्यक्रमका क्रममा झाँक्री औपचारिक रूपमा एमालेमा प्रवेश गर्ने तयारीमा छिन्।

ad

झाँक्रीले सामाजिक सञ्जालमार्फत कार्यकर्ताहरूलाई सो कार्यक्रममा उपस्थित रहन आह्वान गर्दै उक्त अभियानलाई 'हाम्रो अभियान, कम्युनिष्ट आन्दोलनको मूल प्रवाहमा फर्किने अभियान' का रूपमा वर्णन गरेकी छिन्।

'यो अभियान हाम्रो लागि हो। हामी सबैजना कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुँदै घर फर्कने अभियान हो,' उनले लेखेकी छिन्।

झाँक्रीले आफ्नो राजनीतिक यात्रामा विभिन्न उतारचढाव रहेको उल्लेख गर्दै कार्यकर्ताप्रति आभार प्रकट गरेकी छिन्।

'मेरो राजनीतिक जीवनमा यो एउटा उतारचढाव हो। तपाईंहरूप्रतिको मेरो उत्तरदायित्व सधैं रहनेछ,' उनले भनिन्,'गत निर्वाचनमा तपाईंहरू माझ आएको सम्झना सधैं मनमा रहिरहनेछ।'

झाँक्रीले यसअघि माओवादी केन्द्रसँग भएको एकता प्रक्रियामा असहमति जनाउँदै सार्वजनिक रूपमा दूरी बनाएकी थिइन्। अहिले उनी एमालेले सुरु गरेको घर फर्क अभियानमा सहभागी हुँदै पार्टीको मूल प्रवाहमा पुनः फर्किने निर्णय गरेकी हुन्।

अन्त्यमा उनले लेखेकी छिन्,'मैले केही निर्णय लिन लागेकी छु। यसलाई हजुरहरूले सामान्य रूपमा लिनुहोस् भन्ने हार्दिक अनुरोध गर्दछु।'