
काठमाडौँ । लामो समयदेखि फरार रहँदै आएका नक्कली भूटानी शरणार्थी ठगी प्रकरणका अभियुक्त रन्जनकुमार खरेललाई प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको छ।
प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार, मधेश प्रदेशको रौतहट जिल्ला, फतुवा हर्साह–९ का स्थायी बासिन्दा ४२ वर्षीय खरेल उक्त प्रकरणमा मुख्य आर्थिक संलग्नता रहेको समूहसँग प्रत्यक्ष सम्बन्धित थिए।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार, खरेलले नगद तथा चेकमार्फत रकम संकलन र ओसारपसार गर्ने, गैरकानुनी रूपमा ठगी र कागजात कीर्ते कार्यमा संलग्न समूहसँग मिलेमतो गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
'उनले पीडितहरूबाट असुल गरिएको रकम प्राप्त गर्ने र वितरणमा समेत भूमिका खेलेका थिए,' श्रेष्ठले भने।
खरेलविरुद्ध आर्थिक वर्ष २०७९/८० मा जिल्ला प्रहरी परिसर काठमाडौँमा ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी मुद्दा दर्ता गरिएको थियो। त्यसपछि उनी फरार रहेका थिए।
प्रवक्ता श्रेष्ठका अनुसार, गोप्य सूचनाका आधारमा आइतबार पक्राउ गरिएको खरेललाई थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ।









Facebook Comments