काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनले सुशासन, संविधान र लोकतन्त्रलाई अझ उन्नत बनाउने आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए । 

सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव तथा सार्वजनिक सेवा प्रसारण र एनटिभी वल्र्डको शुभारम्भ समारोहमा राष्ट्रपतिले लोकतन्त्रलाई बलियो बनाउने युवाको चाहना पूरा गर्न तथा निर्वाचनलाई सफल बनाउनुपर्नेमा जोड दिए ।

ad

राष्ट्रपतिले लोकतन्त्रकोे सुदृढीकरण र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माण गर्न सञ्चारमाध्यमले नागरिकलाई सूसुचित गराउने कर्तव्यबाट च्युत हुन नहुने बताए । “युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सञ्चारमाध्यमले अझ प्रभावकारी ढङ्गले काम गर्नुपर्ने आजको आवश्यकता हो”, उनले भने, “सार्वजनिक सेवा प्रसारण सरकारी वा व्यावसायिक स्वार्थको सञ्चार संस्था होइन, यो नागरिकको संस्था हो, जसले सरकारको हस्तक्षेप र व्यावसायिक दबाबभन्दा माथि उठेर नागरिकको पक्षमा, राष्ट्रहितमा काम गर्नुपर्छ ।”