वसन्त लोहनी

हिजोको फुलमार चुरोटको ब्रान्ड
त्यस्तै हात्तीमार कापीको ब्रान्ड
फुलमारको सर्को तानेपछि बादल पारीको दुनियाँ देखिने
हात्तीमार कापीमा जे लेखे पनि
त्यसपछि त्यो मुलुक हाँक्ने विचार बनिहाल्ने
जुनसुकै नाम दिए पनि हुने
मित्र शक्ति, प्रमुख शत्रु, गन्तव्य र पहिचानको
प्रजातन्त्र, समाजवाद र रूपान्तरणको
आलुजस्तो जुनसुकै तरकारीमा हाले पनि मिल्ने
आवाद केवल आफ्नो मात्रै हुनुपर्ने
बाँकी सबै प्रयोग गरेर फाल्ने वस्तुसरह ।

ad

नाममा के राखेको छ र ?
मौसमअनुसारको लुगा लगाएजस्तो
जे–जे राखे पनि हुने
जे–जे भट्ट्याए पनि हुने
मुलुकलाई १० वर्षमा सिंगापुर बनाइदिन
कमिला नपुग्ने टाकुरामा रेल पु¥याउँछु भन्न परे पनि भन्ने
छहराको गाउँमा पानीजहाज ल्याइदिन्छु भन्नु परे पनि भन्ने
मेरो नेतृत्वमा २० वर्ष मात्र होस्
चीन र भारतको भन्दा माथि विकास पु¥याइदिन्छु पनि भनिदिने ।

मेला लागेको बेला
बोलीको खेला गर्ने हो
आफ्नो खल्ती भरेर
सुको भ्रष्टाचार नगरेको ठूलो स्वर निकाल्ने हो
अनि प्रश्न आफैँले गर्ने –
भ्रष्टाचार नगर्नु नै के मेरो अपराध हो ?
यसरी आफैँ प्रश्न र उत्तर बनेर हिँड्दा
मेरो के जान्छ र ?
वाह ! वाह !! बटुल्ने त हो
यसै गरेर आर्यघाट पुग्दासम्म
जे–जे बोल्नुपर्छ त्यो बोल्दै जाने
खुलेको खुल्यै आँखाहरूले खुला आकाश हेरिरहेपछि
जे सुकै होस् त्यसको के नै अर्थ छ र ?

चण्ड जहाँ उभियो त्यो समाजवादको बाटो भइगयो
मुण्ड जहाँ उभियो त्यो समाजवादमा झन् चाँडो पुग्ने बाटो
जुनसुकै मार्गदर्शन होस् –
उदारवादको, आर्थिक समाजवादको,
बहुदलीयको होस् या जनताको जनवाद
आवाद आफू केन्द्रित हुनुपर्छ
नयाँ नेपाल बनाउँदै गएको मार्गदर्शक सिद्धान्त यही यो ।

चण्डमुण्डसँग कति छन् या छैनन्
त्यो सरोकारको विषय भएन
अझ सरोकार नभएको त
चण्डमुण्डलले ऐलान गरेका ती पार्टीहरू परे
जसको अस्तित्व नै एउटा रिक्तता बनेको
जो पुनः फुट्नका लागि जुटिरहेका छन् ।

चण्ड मुण्डले आपसमा झगडा गरे पनि ऐतिहासिक
पानी बाराबार गरे पनि ऐतिहासिक
एक अर्कालाई तल्लो स्तरको गाली गरे पनि ऐतिहासिक
फेरि बेडफेलो भए पनि ऐतिहासिक
जे गरे पनि ऐतिहासिक
केही नगरे पनि ऐतिहासिक
मानौँ चण्डमुण्ड नै नेपालको इतिहास हो ।

पलाञ्चोक भगवती माताको दर्शन गर्दा
देखे १८ हात अस्त्रशस्त्रले सुसज्जित
दायाँ खुट्टाले चण्डलाई र बायाँले मुण्डलाई
बीचमा महिषासुरलाई कुल्चेको
त्रिमूर्तिमय दानवीय त्रासको अन्त्य भएको
चण्डमुण्ड ब्रान्डको अवसानका लागि
शैलपुत्रीदेखि सिद्धिदात्रीसम्मको नौ स्वरूपमध्ये
जुनसुकै स्वरूपमा प्रकट भए पनि
म त दैवी शक्तिको आगमनको प्रतीक्षामा छु ।