
काठमाडौं । मुलुककै सबभन्दा जेठो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा १५औँ महाधिवेशनको समय तालिकाका विषयलाई लिएर उठेको विवाद झन् झन् पेचिलो र जटिल बन्दै गइरहेको छ, महाधिवेशन अहिले अन्तरिम सरकारले तोकेको आमनिर्वाचनको मिति फागुन २१ अगावै गर्ने कि, चुनाव पछि गर्ने भन्ने विषयमा संस्थापनपक्ष र इतरपक्षबीच रस्साकस्सी बढेको बढ्यै छ । बैठक सुरुहुनु अघि महामन्त्री गगनकुमार थापालाई महाधिवेशनको कार्यतालिका नै प्रस्ताव गर्न रोकेकोमा धेरैपटक पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि अन्त्यमा प्रस्ताव गर्न दिए पनि संस्थापन पक्षका सहमहामन्त्री महेन्द्र यादवले चुनावपछि वैशाखमा गर्ने गरी प्रस्ताव राखेपछि कार्यबाहक सभापति पूर्णबहादुर खड्काले ‘फेस सेभिङ’का लागि व्यक्तिगत प्रस्तावको संज्ञा दिएका थिए ।
असोज २८ गतेबाट सुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले कार्यबाहक सभापतिको जिम्मा उपसभापति खड्कालाई दिएपछिको बैठकमा नियमित अधिवेशन कि विशेष अधिवेशनको बहसले तीव्रता पाएको हो । महामन्त्री गगनकुमार थापाले पुस १६–१९ को नियमित कार्यतालिका पेस गरेपछि अहिले संस्थापनमै रहेका ७ भाइ नेताहरू जसरी पनि फागुन २१ को चुनावअगाडि महाधिवेशन गराउन नहुने मनसायका साथ उनी निकटका नेताहरूलाई धारणा राख्न लगाए पनि अहिले क्रमशः चुनावअघि नै महाधिवेशन गर्नुपर्ने मत बलियो बन्दै गएको छ । अस्ति शुक्रबारसम्मको बैठकमा ११५ जनाले धारणा राखेका छन् । अझै ४९ जना केन्द्रीय सदस्यहरूले धारणा राख्न बाँकी रहेको छ भने अब शोक बिदापछि मंगलबारबाट सुुरु हुने बैठकमा बाँकीले धारणा राखेपछि यो हप्ता बैठक सकिने बुझिएको छ । अहिलेसम्म चुनावअघि र चुनाव पछि १५औँ महाधिवेशन गर्ने तर्क गर्नेको संख्या आधा आधा रहे पनि निर्णय हुँदासम्म सहमतिमा महाधिवेशनको मिति तोक्ने गरी कार्यबहाक सभापति खड्का लागेको एक पदाधिकारीले देशान्तरलाई बताए ।
पछिल्लो समय सभापति देउवानिकट पार्टीका पदाधिकारीदेखि केन्द्रीय सदस्यहरू पनि चुनावअघि महाधिवेशनका पक्षमा खुल्न थालेपछि नेतृत्वमाथि दबाब परेकाले केन्द्रीय समिति बैठकले पुस १६ देखि १९ गतेसम्मकै कार्यतालिकामा एकमत भएर निर्णय लिने अवस्था देखिएको कांग्रेसका एक प्रभावशाली नेताले देशान्तरलाई बताए ।
१४औँ महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट निर्वाचित सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र भीष्मराज आङदम्बे चुनावअगाडि नै महाधिवेशन गर्नुपर्नेमा पक्षमा देखिएका छन् । मन्सुरले त केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापालाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेर चुनावमा जानुपर्ने बताएका छन् । पछिल्लोपटक कांग्रेसमा महाधिवेशन गरेर वर्तमान महामन्त्री गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर चुनावमा होमिनुपर्ने मत बलियो बन्दै गएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
पार्टीको १५औँ महाधिवेशन फागुन २१ गते तय भएको प्रतिनिधिसभाको निर्वाचनअगाडि कि पछाडि गर्ने भन्ने विषयमा संस्थापन पक्ष र इतर पक्षबीच सहमति नजुटेपछि केन्द्रीय समितिको बैठकमा दुवै पक्षले महाधिवेशनको छुट्टाछुट्टै कार्यतालिका पेस गर्दा कांग्रेसभित्र थप धु्रवीकरण देखिएको छ । केन्द्रीय समितिको मंगलबार बसेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ सम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्ताव गरेपछि संस्थापन पक्षका सहमहामन्त्री महेन्द्र यादवले वैैशाख २७ देखि २९ गतेसम्म कार्यतालिका प्रस्तुत गरेका थिए । यादवको प्रस्तावलाई कार्यबाहक सभापति खड्काले व्यक्तिगत भनेर टिप्पणी गर्नु र संस्थापन पक्षकै दर्जनौँ नेताहरू तत्काल महाधिवेशनको पक्षमा उभिएपछि चुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा बहुमत रहेको एक कांग्रेस नेताले देशान्तरलाई बताए ।
संस्थापन पक्षका अमृत अर्याल, मोहन आचार्य, मदन अमात्य, उदयशमशेर राणा, आङगेलु शेर्पा, कर्णबहादुर बुढा, दिलमान पाख्रिन, राजेन्द्रकुमार केसी, बहादुरसिंह लामा, जिपछिरिङ लामा, मैकुलाल वाल्मीकि, अर्जुनप्रसाद जोशी, भरतकुमार शाह, अब्दुल सत्तार, नैनसिंह महर, डिला संग्रौला र विनोद चौधरीले चुनावअघि नै महाधिवेशनको पक्षमा धारणा राखेका छन् । चुनाव अगाडि महाधिवेशन गर्नुपर्ने पक्षमा एकदमै अनुदार देखिएका कृष्णप्रसाद सिटौलानिकट तारामान गुरुङ र धना खतिवडाले पनि निर्वाचनअघि नै महाधिवेशनमा जोड दिएका छन् ।
नियमित महाधिवेशन नगर्ने हो भने ५४ प्रतिशत सदस्यको विशेष महाधिवेशनको सामूहिक मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यसमितिको अनिवार्य वैधानिक दायित्व भएको कुरा पनि थुप्रै नेताहरूले उठाएका छन् । यदि नियमित महाधिवेशन यो वा त्यो बहानामा टार्ने अवस्था आयो भने विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित अघि बढ्ने तयारी संस्थापनइतर पक्षको रहेको कांग्रेसका एक नेताले जानकारी दिएका छन् ।
महाधिवेशन कहिले र नियमित कि विशेष भन्ने विषयमा चर्को बहस चलिरहेका बेला केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्य मधु आचार्यले शुक्रबारको बैठकमा मंसिर २४ देखि विशेष महाधिवेशनको तालिका प्रस्ताव गरेका छन् । उनले महामन्त्री थापाले पेस गरेको नियमित कार्यतालिकामा सहमति नभए ५५ प्रतिशत महाधिवेशनले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरिसकेकाले मंसिर २४ गते मंगलादेवी सिंहको जन्मजयन्ती दिनबाट सुरु हुने गरेर विशेष महाधिवेशन आयोजना गर्न प्रस्ताव गरेका छन् ।
कांग्रेसको विधानको धारा १७ (२)मा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने उल्लेख छ ।









Facebook Comments