काठमाडौं । एमालेकै पूर्वउपाध्यक्ष समेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता नवीकरण गरेर पार्टीमा सक्रिय हुन खोजे पनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्णय नै गराएर उनलाई आउन रोकेपछि अब भण्डारी पक्षले मंसिर २७ देखि काठमाडौंमा तय गरिएको ११औँ महाधिवेशनमा हालका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्षको उम्मेदवार बनाउने तयारी थालेका छन् ।

अझै पनि भण्डारीलाई सक्रिय हुनबाट नरोक्न अध्यक्ष ओलीलाई थुप्रै नेताहरूले दबाब दिइरहे पनि ओली भने कुनै पनि हालतमा भण्डारीको सदस्यता नवीकरण गर्ने पक्षमा छैनन् । आफूसँग कोही प्रतिस्पर्धा नगरून् र निर्विकल्प अध्यक्ष बन्न सकियोस् भन्ने योजनाअनुसार ओलीले पार्टी केन्द्रीय समितिमा आफ्नो पक्षको बहुमतको आडमा भण्डारीको नवीकरण भइसकेको सदस्यता निलम्बनमा राखिदिएका थिए । जति प्रयास गरे पनि पार्टीमा सक्रिय हुन वञ्चित गराइएपछि भण्डारीले पोखरेललाई अगाडि बढ्न सुझाएकी हुन् । मदन भण्डारीको ७५औँ जन्मजयन्तीका लागि बानेश्वरमा खोलिएको सम्पर्क कार्यालयमार्फत महाधिवेशनकेन्द्रित गतिविधि समेत सुरु भइसकेको छ ।  ओलीले तेस्रो कार्यकालको अध्यक्ष बन्नकै लागि विधान संशोधन गरेर उमेर हद र दुई कार्यकालको प्रावधान हटाउन सफल भइसकेका छन् ।

ad

तर यसपटक पनि अध्यक्षमा आफू सर्वसम्मत बन्ने ओलीको चाहना भने सफल हुने छाँटकाँट देखिएको छैन । एमालेको चितवनमा भएको दसौँ महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्न चाहे पनि तत्कालीन उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी दिएपछि चुनाव भएको थियो । ओलीसँग जोरी खोजेकै कारण अन्ततः रावल एमालेबाट निस्किनु परेको थियो । 
भण्डारी पक्षका नेताहरूले आगामी महाधिवेशनमा पोखरेलको नेतृत्वमा प्यानल नै खडा गरी प्रतिस्पर्धामा उत्रिने तयारी सुरु गरेका छन् । पोखरेलका पक्षमा बहुमत सचिवालय सदस्यहरू रहेका छन् । यद्यपि, केन्द्रीय कमिटी र अन्य कमिटीहरूमा भने ओलीको बहुमत छ । 

एमालेले आगामी मंसिरमा ११औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गर्दै यसको तयारीलाई तीव्र बनाएको छ । एमालेका हाल ६ लाख ६७ हजार ६ सय ३० संगठित सदस्यमा झन्डै २ हजार १ सय प्रतिनिधि छनोटका लागि यही मंसिर १३ गते एकैदिन देशभरि नै एमालेले प्रतिनिधि छनोट गर्ने तालिका सार्वजनिक गरेको छ ।

मंसिर १५ भित्र देशभरिबाट प्रतिनिधिको विवरण पठाउन एमालेले निर्देशन समेत दिइसकेको छ । महाधिवेशनअगाडि एमालेले मंसिर ६ मा काठमाडौं बृहत् जनसभा गर्ने जनाएको छ । महाधिवेशनको उद्घाटनको अवसरमा मंसिर २७ मा इतिहासकै सबैभन्दा ठूलो जनप्रदर्शन गर्ने घोषणा पनि एमालेले गरेको छ ।