
काठमाडौं । गैरदलीय सुशीला कार्की नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय गरी तीनवटा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङले आगामी निर्वाचनलाई लक्षित गर्दै मन्त्री पदबाट राजीनामा दिने र नयाँ राजनीतिक दल गठन गर्ने तयारी थालेको चर्चा चले पनि उनी मन्त्री पनि नछाड्ने र दल पनि खोलेर दुवै हातमा लड्डु पार्ने रणनीतिमा रहेको बुझिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा लोडसेडिङ अन्त्य गरी लोकप्रिय बनेका घिसिङले दल खोल्न लागेका कारण गैरदलीय सरकारबाट राजीनामा गर्नुपर्ने चर्चा राजनीतिक वृत्तमा चलेको छ ।
कार्की नेतृत्वको अन्तरिम सरकार गैरदलीय भएकाले नयाँ दलमा आबद्ध भएपछि नैतिक द्विविधा सिर्जना हुने देखिएपछि उनी दबाबमा परेका हुन् । केही निकट सूत्रले भने उनले केही दिनभित्रै राजीनामा दिई नयाँ दलको नाममा निर्वाचन आयोगमा दर्ता प्रक्रिया सुरु गर्ने तयारी गरेका छन् ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा आयोजित सम्पादकहरूसँगको भेटमा आफ्ना मन्त्रीहरूलाई चुनावी तयारीबारे सोध्दा अधिकांश मन्त्रीले त्यसप्रति अनिच्छा देखाएका थिए । तर, कुलमान घिसिङले सो अवसरमा मौन रहँदा उनको राजनीतिक योजना सार्वजनिक हुन थालेको बुझिन्छ ।
नयाँ दल गठनको तयारीमा घिसिङसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, रास्वपा परित्याग गरेकी नेतृ सुमना श्रेष्ठ, सागर ढकाल र सुधन गुरुङसहितका व्यक्ति नजिक रहेका छन् । ती सबै मिलेर नयाँ पुस्ताको राजनीतिक आकांक्षा समेट्ने ‘जेन–जी पार्टी’का रूपमा दल अघि बढाउने प्रारम्भिक सहमति भएको बताइन्छ ।
घिसिङको नेतृत्वमा बन्ने दलले अध्यक्षीय प्रणालीलाई अंगीकार गर्ने र १५१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने तयारी गरेको छ । पार्टीलाई वैकल्पिक राजनीतिक शक्ति र जेन–जी आन्दोलनको निरन्तरता स्वरूप प्रस्तुत गरिने योजना छ । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तोकिएको आमनिर्वाचनका प्रयोजनका लागि कात्तिक ३० गतेसम्म दल दर्ताको म्याद दिएको छ ।
तर, सो विषयमा कुलमान घिसिङले भने राजीनामा दिने तयारीको समाचार असत्य भएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा कुनै सत्यता छैन । यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ, र म तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै जनादेशको कार्यान्वयनमा निरन्तर क्रियाशील छु ।’
तर, उनका निकट स्रोतहरू भने विपरीत धारणा राख्छन् । स्रोतका अनुसार, दल दर्ता निवेदन निर्वाचन आयोगमा असोजमै पुगेको छ र प्रारम्भिक रूपमा ‘उज्यालो नेपाल’ वा ‘जेन–जी पाटी’ नाममध्ये कुनै एक चयन गर्ने तयारी चलिरहेको छ । दलको चुनाव चिह्नका रूपमा ‘बल्ब’ प्रयोग गर्ने प्रस्ताव पनि टेबलमा रहेको जनाइएको छ, जसले घिसिङको ऊर्जा–केन्द्रित पहिचानसँग सादृश्य राख्छ ।
नयाँ दल गठनअघि घिसिङले विवेकशील साझा पार्टी पृष्ठभूमिका केही नेताहरू, रक्षा बम नेतृत्वको नेपाल जेन–जी फ्रन्ट, र नागरिक उन्मुक्ति तथा जनमत पार्टीका केही प्रतिनिधिहरूसँग निरन्तर संवाद गर्दै आएका थिए । तर, पार्टीको नाम, चुनाव चिह्न र नेतृत्व संरचनामा सहमति जुट्न नसकेपछि उनले स्वतन्त्र दल गठनको बाटो लिएको बुझिएको छ ।
जेन–जी फ्रन्टका एक नेताका अनुसार, ‘हामीले सामूहिक नेतृत्वमा सबै वैकल्पिक शक्ति एक ठाउँमा आउनुपर्ने प्रस्ताव राखेका थियौँ, तर कुलमानजी एकल नेतृत्वमा दृढ देखिनुभयो ।’ सोही कारण एकीकृत पार्टीको सम्भावना टरेको छ ।
विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिलन पाण्डेले पनि सहकार्यका लागि छलफल भइरहे पनि अन्तिम सहमति नभएको बताए । उनका अनुसार, ‘कसले पार्टी खोल्छ भन्नेभन्दा महत्वपूर्ण कुरा अहिलेको पुस्ताको म्यान्डेटलाई संस्थागत गर्नु हो । त्यसका लागि सबैले केही त्याग गर्न सक्नुपर्छ ।’
घिसिङको पार्टी निर्माणमा सक्रिय देखिएका काठमाडौंका मेयर बालेन शाह भने आगामी आमनिर्वाचनमा प्रत्यक्ष प्रतिस्पर्धा नगरी मेयरकै भूमिकामा रहने बताइएको छ । उनले पार्टीको संरचना र वैचारिक मार्गदर्शनमा भूमिका निभाउने तयारी गरेका छन् ।
आलोचकहरूले भने यसलाई असमयको कदम ठान्दै छन् । उनीहरूको तर्कमा, आन्दोलनपछि बनेको अन्तरिम सरकारलाई पूर्ण कार्यकालसम्म सफलतापूर्वक अघि बढाउनुपर्ने जिम्मेवारीबाट पन्छिनु अनुकूल कदम नहुने हो । विभिन्न राजनीतिक समीकरण र वैकल्पिक शक्तिहरूबीचको संवादबीच कुलमान घिसिङको सम्भावित पार्टीले नेपाली राजनीतिमा नयाँ समीकरण सिर्जना गर्ने संकेत देखिएको छ । उनले राजीनामा दिने वा नदिने विषयमा औपचारिक निर्णय अझै सार्वजनिक नभए पनि आगामी केही दिनभित्र राजनीतिक घोषणाको चरण आरम्भ हुने सम्भावना उच्च छ ।









Facebook Comments