
ललितपुर । कुनै समय नेपाली खेलकुदको गर्विलो इतिहास बुकेको फटबल खेल अहिले कोममा पुगेको छ भन्दा हुन्छ । ३ वर्षसम्म देशकै प्रतिष्ठत र नेपाली फुटबलको मेरुदण्डको रूपमा रहेको सहिद स्मारक ए डिभिजन लिग हुन सकेको छैन । विगतमा ‘चेन्ज एन्फा’को नारा लगाएर कुर्सीमा पुगेका पंकजविक्रम नेम्वाङहरू अहिले खेल र खेलाडीको भावनाविपरीत मनमौजी गर्नमा व्यस्त छन् ।
आउँदो मंसिरमा ए डिभिजन लिग आयोजना गर्ने तालिका विगतमा निकालेको एन्फाले अहिले यो प्रतियोगिता १ वर्ष पर सारेको छ । खेलाडीहरू खेल्न पाउनुपर्ने माग गर्दै सडकमै उत्रिनुपर्ने बाध्यता आउनु नेपाली फुटबलका लागि राम्रो दृश्य नभएको एक खेलाडीले देशान्तरलाई बताए ।
नेपालमा राणाकालदेखि नै सुरु भएको फुटबल खेल, पछिल्ला दशकहरूमा लाखौं नेपालीहरूको आशा र उत्साहको प्रतीक बन्न पुग्यो । तर आज, नेपाली फुटबलको अवस्थालाई नियाल्दा, यो कुनै रोगग्रस्त व्यक्तिको जस्तो देखिन्छ, जसको शरीरमा प्राण त छ, तर चेतना हराएको छ । नेपाली फुटबल अहिले ‘कोमा’ अर्थात् गम्भीर बेहोसीको अवस्थामा छ ।
केही वर्षअघिसम्म दशरथ रंगशालामा हुने घरेलु लिगहरूमा दर्शकको घुइँचो लाग्थ्यो, जसले फुटबलको लोकप्रियता झल्काउँथ्यो । मोफसलका गोल्डकपहरूले खेलाडीहरूलाई व्यस्त राख्थे र नयाँ प्रतिभाको जन्म दिन्थे । अन्तर्राष्ट्रिय स्तरमा सीमित सफलता मिले पनि, जित्दा हुने राष्ट्रिय उत्साह अतुलनीय हुन्थ्यो ।
तर वर्तमान अवस्था चिन्ताजनक छ । घरेलु फुटबलको ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका लिगहरू नियमित र समयमा हुन छोडेका छन् । फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिगको अनिश्चितताले खेलाडीहरूलाई मैदानबाट टाढा राखेको मात्रै छैन कतिपय खेलाडीहरू विदेशिन बाध्य छन् । अस्ट्रेलिया, अमेरिका वा अन्य एसियाली राष्ट्रका सामान्य क्लबमा आबद्ध हुनु उनीहरूको बाध्यता बनेको छ, जसले नेपाली फुटबलको आधारस्तम्भलाई कमजोर बनाउँदै लगेको छ । घरेलु गतिविधिको अभाव र फुटबल संघभित्रको किचलोले समर्थकको उत्साह घट्दै गएको छ ।
अहिले पनि नेपालले खेल्ने फुटबल खेल देशभित्र नभई विदेशमा खेल्न पठाउने र पदाधिकारीहरूलाई सयर गराउने काममा एन्फा लागेको समर्थकहरू नै आरोप लगाउँछन् । एउटा क्लब चलाउनका लागि वार्षिक करोडौँ खर्च हुने, तर समयमा लिग नहुँदा धान्न पनि धौ भएको क्लबका एक पदाधिकारीले बताए ।
खेलाडीहरूले खेल्न पाउनुपर्ने माग राखेर सडकमै प्रदर्शन गरेको छ । नेपाल फुटबल प्लेयर एसोसिएसनले एन्फालाई दबाब दिन मेडल नै एन्फा मुख्यालयको गेटमा झुन्डाउन पुगेका थिए । खेलाडीहरूको आन्दोलनमा समर्थन गर्नेहरूको लहर बढ्दै गएको छ । फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले फुटबल राम्रोसँग सञ्चालन गरी खेलाडीलाई स्वदेशमै टिकाउने वातावरण बनाउन आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएको बताएका छन् ।
उनीसहितको टोलीले प्रदर्शन गर्दै एन्फाका पदाधिकारीलाई भेट्ने माग गरे पनि पदाधिकारीले भने अहिलेसम्म वास्ता गरेका छैनन् । उनीहरूले कुनै पनि निर्णय गर्न नसक्ने प्रवक्ता सुरेश शाहलाई खेलाडीहरूसँग गेट भित्रबाट बोल्दै मागका विषयमा बुझेका थिए । तर उनको तहबाट कुनै पनि निर्णय नहुने बुझेका खेलाडीहरूले आगामी दिनमा फेरि आन्दोलन गर्ने खेलाडीहरूले चेतावनी दिएका छन् । अहिलेको अवस्थामा नेपाली फुटबललाई कोमामा पु¥याउने मुख्य कारक मैदान भित्रको प्रदर्शन नभई, मैदान बाहिरको फोहोरी राजनीति हो । अखिल नेपाल फुटबल संघ (एन्फा) नेपाली फुटबलको प्रशासकीय निकाय हो, तर यो संस्था आन्तरिक गुटबन्दी, विवाद र आरोप–प्रत्यारोपको सिकार बनेको छ ।









Facebook Comments