
काठमाडौं । चितवनको सौराहामा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको विस्तारित बैठकमा शुक्रबार कार्यवाहक सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे।
प्रतिवेदनमा उनले साझा एजेन्डा, स्वच्छ छवि र परिवर्तनप्रतिको दृढ संकल्पका साथ वैकल्पिक शक्तिहरू एउटै पार्टीमा, नसके पनि एउटै चुनाव चिह्नमा सहभागी हुनुपर्ने धारणा व्यक्त गरे। उनका अनुसार, यस्तो सहकार्यले मात्र पुराना दलहरूको दीर्घकालीन प्रभावलाई चुनौती दिन र जनताको विश्वास पुनःआर्जन गर्न सकिन्छ।
'यो एकता केवल चुनावी रणनीति होइन, देशमा साँच्चिकै परिवर्तन ल्याउने आधारभूत सर्त हो,' प्रतिवेदनमा भनिएको छ, 'पुराना दलहरूको शासन अक्षमता रोक्न सशक्त र विश्वसनीय वैकल्पिक शक्ति आवश्यक छ।'
अर्यालले देशको विकास, सुशासन र परिवर्तनका लागि प्रतिबद्ध नयाँ दल, समूह र स्वतन्त्र व्यक्तिहरूबीच बृहत् सहकार्य गर्नुपर्नेमा जोड दिए। उनका अनुसार साना स्वार्थ र व्यक्तिगत अहम त्यागी सहकार्यमा जुटे मात्र जनताले भरपर्दो विकल्प पाउनेछन्।
बैठकपछि कुरा गर्दै अर्यालले रास्वपाले चुनावअघि गठबन्धनको नीति नलिएको स्पष्ट पारे। उनका शब्दमा, 'कांग्रेस, माओवादी, राप्रपासँग गठबन्धन गर्ने भन्ने हल्ला निराधार हो। हाम्रो उद्देश्य नयाँ दलहरू तितरवितर हुन नदिनु हो।'
उनका अनुसार रास्वपाले विगतका दलहरूले जस्तो बदनाम गठबन्धन बनाउने तयारी गरेको होइन।
'संसदमा १२५ दल दर्ता भएका छन्। हामीले नयाँ दलहरूलाई सकेसम्म मिलौं भनेका छौं। दल दर्ता भइसकेकाहरूसँग पनि कार्यगत सहकार्य गरेर राम्रो उम्मेदवारलाई सहयोग गर्न सकिन्छ,' उनले भने।
अर्यालले खराब गठबन्धनका कारण ‘गठबन्धन’ शब्द नै बदनाम बनेको टिप्पणी गर्दै रास्वपाले त्यसबाट भिन्न दृष्टिकोण लिने बताए।
बैठकमा केही प्रतिनिधिले कतिपय दलहरूसँग सहकार्य गर्नै नहुने भनाइ राखे भने, अन्यले सरकार गठनका बेला मात्रै गठबन्धन गर्नुपर्ने सुझाव दिए।
अर्यालका अनुसार, 'सुझावहरू मिश्रित आएका छन्, अब यसबारे देशभर बहस हुनेछ, त्यसपछि केन्द्रीय बैठकले अन्तिम निर्णय लिन्छ।' उनले भने, 'हामी हाम्रो मूल्य–मान्यताबाट विचलित भएका छैनौं। तपाईंले सोधेजस्तो गठबन्धन हुँदैन।'
अर्यालको प्रतिवेदनमा रास्वपाले सम्भव हुनेसँग एकता, नहुनेसँग मोर्चाबन्दी र सीमित मुद्दामा सहकार्य गर्ने नीति अबलम्बन गर्ने उल्लेख छ। उनका अनुसार यस्तो सहकार्यबाट वैकल्पिक शक्ति निर्माणको आधार विस्तार हुँदै जानेछ।
प्रतिवेदनमा भनिएको छ, 'स्पष्ट बहुमतको सरकारले मात्रै बाहिरी दबाबविनै जनताको हितमा काम गर्न सक्छ। बलियो जनादेश प्राप्त सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनमा दृढतापूर्वक अघि बढ्न सक्छ।'
बैठकमा केन्द्रीय सदस्य तोसिमा कार्कीले रास्वपाको ‘घण्टी’ चुनाव चिह्न साझा राख्दै समान विचार भएका दलहरूसँग एकता गर्नुपर्ने सुझाव दिइन्।
उनले अन्य राजनीतिक दल, विचार समूह र स्वतन्त्र व्यक्तिहरूसँग संवाद गरी 'जेनजी आन्दोलनको आकांक्षा अनुसार परिवर्तन संस्थागत गर्न सक्ने मध्यमार्गी शक्ति' निर्माण गर्न पार्टीलाई आह्वान गरिन्।









Facebook Comments