
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जनेजी आन्दोलनका क्रममा घुसपैठ गर्ने तत्वमाथि कुनै पनि हालतमा छुट नदिइने चेतावनी दिएका छन् ।
शनिबार नेपाल उद्योग वाणिज्य महासंघले राजधानीमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनको उद्देश्य बिगार्ने र हिंसा भड्काउने समूहमाथि कानुनी राज्यको सम्पूर्ण कठोरता प्रयोग गरिने स्पष्ट पारे ।
गृहमन्त्री अर्यालका अनुसार हालसम्म जनेजी आन्दोलनसँग सम्बन्धित घटनामा ३८० जना पक्राउ परेका छन् भने १५० जनामाथि विभिन्न आपराधिक मुद्दा दायर भइसकेका छन् । उनले आन्दोलनपछि प्रहरीले ७१० हतियार नियन्त्रणमा लिएको र फरार रहेका १४ हजार ५ सय ४९ कैदीमध्ये ९ हजार ५ सय २१ जना फिर्ता भइसकेको जानकारी दिए ।
उनले हतियार फिर्ता ल्याउन र बाँकी फरार कैदी पक्राउ गर्न गृह मन्त्रालयले विशेष अपरेसन सञ्चालन गर्न लागेको जानकारीसमेत दिए । ‘कानुनी राज्य पुनःस्थापित भइसकेको छ, अब उद्योगी व्यवसायीलाई निडर वातावरणमा काम गर्न सरकारले पूर्ण सुरक्षा दिनेछ,’ मन्त्री अर्यालले भने ।
नेता–मन्त्रीलाई रिझाएर मात्र काम हुने समय अब अन्त्य भएको बताउँदै उनले अहिलेको सरकारले सुशासनलाई व्यावहारिक रूपमा लागू गरिरहेको दाबी गरे । ‘सुशासनको अभावले नै जनेजी आन्दोलन जन्मिएको थियो, त्यसैले सरकार दोहोरिन नदिन सतर्क छ,’ उनले जोड दिए ।
गृहमन्त्री अर्यालले आगामी दिनमा कानुनी शासन सुदृढ गर्दै राज्यका संयन्त्रलाई जनमुखी बनाउन सरकार निरन्तर लागिपरेको पनि बताएका छन् ।









Facebook Comments