
काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले यथार्थको नेपाल बनाउनका लागि मतदाता परिचय पत्र बनाउन आह्वान गरेकी छन् ।
शुक्रबार साँझ एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले योग्य व्यक्तिले मतदाता परिचय पत्र बनाउन आह्वान गरेकी हुन् । उनले लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने दुई मूलभूत साधनहरू भएको र ती साधनहरू विवेक र मतदान भएको बताइन् ।
उनले आफ्नो विवेकको प्रयोग गरी सही व्यक्तिलाई मतदान गरेर निर्वाचन गराउन र आफैँ पनि प्रतिनिधि बन्न आग्रह गरिन् । उनले समस्त नेपालीको सपना यथार्थको नेपाल बनाउन सबैभन्दा पहिला तपाईं–हामीले मतदाता परिचयपत्र बनाउनु जरुरी रहेको बताइन् ।
उनले भनिन्, ‘लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने दुई मूलभूत साधन छन् । पहिलो तपाईं–हामी नागरिकको विवेक हो । त्यो विवेक जसले सही गर्छ, गलत गर्दैन र गलत गर्न पनि दिँदैन । दोस्रो त्यो विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन तथा मतदाता परिचयपत्र हो ।
‘जेनजी युवा र समस्त नेपालीको सपना नेपाललाई यथार्थको नेपाल बनाउन सबैभन्दा पहिला तपाईं–हामीले मतदाता परिचयपत्र बनाउनुपर्छ,’ उनलको थप आग्रह थियो, ‘त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ । यहाँहरु आफैँ सही प्रतिनिधि बन्नुपर्छ ।’
विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अघि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने उनको भनाइ छ । उनले भनिन्, ‘मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय पत्र बनाऔँ ।’
उनले बेथितिसँग लड्न र देश विकासमा सँगै अघि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने बताइन् ।









Facebook Comments