
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जाँचबुझ आयोगले बयानका लागि बोलाए आन्दोलन भड्किने चेतावनी दिएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्, ‘रवि लामिछानेलाई जस्तै ओलीको बयान लिन जाँचबुझ आयोगले बोलायो भने लाखौँ कार्यकर्ता सिंहदरबार छिर्छन्।’ उक्त अभिव्यक्तिसँगै उनले ओलीसँग खिचिएको तस्बिरसमेत सार्वजनिक गरेका छन्।
बस्नेतको यस्तो चेतावनी त्यतिबेला आएको हो जतिबेला जेन–जी आन्दोलनपछि गठन गरिएको छानबिन आयोगले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि बयानका लागि तयारी गरिरहेको बताइएको छ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटको छानबिन गर्न गठित आयोगले हाल विभिन्न राजनीतिक व्यक्ति, प्रहरी अधिकारी र कार्यकर्तासँग बयान लिइरहेको छ।
तर, पूर्वप्रधानमन्त्री ओलीले आयोगको वैधानिकतामाथि प्रश्न उठाउँदै बयान नदिने अडान लिँदै आएका छन्। उनले आयोगलाई राजनीतिक रूपमा प्रेरित र असंवैधानिक भन्दै अस्वीकार गर्ने संकेत दिएका छन्।
राजनीतिक वृत्तमा बस्नेतको चेतावनीलाई ओलीको प्रत्यक्ष बचाउको रूपमा हेरिएको छ, जसले आयोगमाथि थप दबाब सिर्जना गरेको विश्लेषण गरिएको छ।









Facebook Comments