काठमाडौँ । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विवाद चर्किँदै गएको छ। यही बीच शुक्रबारको केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशन गर्ने प्रस्ताव पेस भएको छ।

बैठकमा केन्द्रीय सदस्य मधु आचार्यले मंसिर २४ गते विशेष महाधिवेशन गर्ने गरी औपचारिक प्रस्ताव पेस गरेका छन्। उनका अनुसार, 'छोटो समयमा अधिवेशन सम्पन्न गरेर पार्टीलाई एक ढिक्का बनाउन' प्रस्ताव ल्याइएको हो।

ad

योसँगै कांग्रेसको जारी बैठकमा महाधिवेशनका सन्दर्भमा तीन फरक–फरक प्रस्ताव पेस भइसकेका छन्। यसअघि महामन्त्री गगन थापाले पुस १६–१९ गतेसम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए भने सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७–२९ गतेसम्म गर्ने अर्को कार्यतालिका प्रस्तुत गरेका थिए।

थापा र यादवबीचको रस्साकस्सीकै बीचमा आचार्यले 'टकराव समाधान गर्न' विशेष महाधिवेशनको प्रस्ताव ल्याएको बताए।

पार्टीभित्र अहिले चुनावअघि वा चुनावपछि महाधिवेशन गर्ने भन्ने विषयमा तीव्र मतभेद देखिएको छ। थापासहित संस्थापन–इतर समूहले प्रतिनिधिसभा निर्वाचनअघि नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै आएका छन्, जबकि संस्थापन पक्षले 'चुनावअघि महाधिवेशन गर्दा अन्तर्घात हुनसक्ने' भन्दै असहमति जनाइरहेको छ।

यता, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन्। कांग्रेस विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउन सकिने प्रावधान छ, जसमा इतर समूहले आफ्नो दाबी टेकेको छ।

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार अहिले पार्टीभित्र 'चुनावअघि वा चुनावपछिको' मात्र द्विविधा बाँकी छ। उनले भने, 'विषय अब ओझेलमा छैन, तर सहमति बनाउन तीन पक्षबीच छलफल जारी छ।'

यसबीच, केन्द्रीय सदस्य एनपी साउद र विश्वकर्मासहितका केही नेताले मध्यमार्गी प्रस्ताव समेत अघि सारेका छन्, फागुन २१ मा चुनाव हुने भए महाधिवेशन त्यसपछि, नहुने भए बढीमा पुसभित्र सम्पन्न गर्न।

तर, शुक्रबारसम्मको बैठकमा कुनै पनि प्रस्तावमा सहमति जुट्न सकेको छैन। पार्टी नेतृत्वले शनिबार पनि बैठक निरन्तरता दिने जनाएको छ।