
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गर्दै सुदन गुरुङ नेतृत्वको जेन–जी समूह सक्रिय बनेपछि प्रधानमन्त्री सुशीला कार्की दबाबमा परेकी छन् । आफूलाई जेन–जी आन्दोलनको अगुवा बताउने सुदन गुरुङले सामाजिक सञ्जालमार्फत गृहमन्त्री अर्यालविरुद्ध तीव्र अभियान सञ्चालन गरेका छन् ।
उनले बिहीबारदेखि लगातार पोस्ट गर्दै अर्याल 'असफल र अलोकप्रिय' भएको आरोप लगाएका छन् । गुरुङले लेखेका छन्, 'महेश बस्नेतजस्ता व्यक्ति उन्मुक्त छन्, तर निकोलस भुसाल पक्राउ परे । गृहमन्त्री ओलीकालीन शैलीमै चलेका छन् ।'
गुरुङले फेसबुकमार्फत दुई दिनको अल्टिमेटम दिँदै भनेका छन्, 'अझै पनि गृहमन्त्रीको पदमा टाँस्सिएर जुकाजस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फरेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ।'
गुरुङले सजिलो रूपमा राजीनामा नदिए पत्रकार सम्मेलनमार्फत ‘भण्डाफोर’ गर्ने चेतावनीसमेत दिएका छन् । उनको समूहले गृहमन्त्री अर्याललाई हटाएर जनताको मुद्दामा उदासीन सरकारलाई चुनौती दिने तयारी गरेको बताइएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार प्रधानमन्त्री कार्कीकै इच्छामा गृहमन्त्री बनेका अर्यालमाथि दुई महिना नबित्दै यस्तो दबाब आउनु कार्कीका लागि मनोवैज्ञानिक रूपमा गम्भीर संकेत हो । स्रोतहरूका भनाइमा, प्रधानमन्त्री कार्कीले नजिकका सहयोगीहरूसँग दिक्दारी व्यक्त गर्न थालेकी छन् ।
उता, काठमाडौंका मेयर बालेन शाहसमेत अब अर्यालबाट ठूला काम नहुने निष्कर्षमा पुगेका छन् । गुरुङसँगको नजिक सम्बन्धका कारण बालेनले मौन समर्थन जनाउँदै आएको राजनीतिक वृत्तमा चर्चा छ ।
जेन–जी आन्दोलनपछि स्वतः चर्चामा आएका सुदन गुरुङले पछिल्लो समय सरकार गठन, मन्त्री नियुक्ति र प्रशासनिक हस्तान्तरणमा समेत प्रभाव पार्ने प्रयास गरेको आरोप लाग्दै आएको छ । दुई दिनअघि बाहिरिएको अडियोमा गुरुङले भनेका थिए– रक्षा बमलाई मन्त्री हुन मैले रोकेको हो ।
गत असोजमा विपद् प्राधिकरणको बैठकमा कर्मचारीलाई निर्देशन दिँदै गरेको गुरुङको भिडियो सार्वजनिक भएपछि गृहमन्त्री अर्याल विवादमा तानिएका थिए । त्यसबेलासमेत उनले गुरुङलाई ‘विज्ञका रूपमा सहभागी गराएको’ भन्दै बचाउ गरेका थिए ।
अब गुरुङले प्रत्यक्ष रूपमा प्रधानमन्त्री सुशीला कार्कीमाथि नै दबाब बढाउँदै गृहमन्त्री परिवर्तनको माग अघि सारेका छन् । उनले चेतावनी दिएका छन्, 'यदि जेन–जीका माग पूरा भएनन् भने, चुनाव गराउन पनि दिइने छैन।'









Facebook Comments